+
+

‘पारिजातले सुयोगवीर बुझ्न सक्ने, पुरुष लेखकले महिला पात्र बुझ्न किन नसक्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते २०:२६

१२ मंसिर, काठमाडौं। लेखकहरु मन्जुश्री थापा, अरुण गुप्तो, उपेन्द्र सुब्बालाई सन्चारिका समूहले एउटै प्यानलमा राखेर नेपाली साहित्यमा महिला चेतनाको अवस्था कस्तो छ भनी सोध्यो ।

‘साहित्यमा नारीवाद : नयाँ दृष्टिकोणको खोजी’ शीर्षक बहससत्रमा सहभागी हुन प्रज्ञा प्रतिष्ठान पुगेका यी लेखकलाई प्रस्तोता निमा काफ्लेले वर्तमान नेपाली साहित्यमा महिला उपस्थिति, दृष्टिकोण अनि पात्र निर्माण लगायत विषयमा दुई घन्टा सोधिन्।

‘अन्यत्र देशहरुको तुलनामा हेर्ने हो भने नेपाली साहित्यमा महिला सहभागिता र अनि पात्र निर्माणको अवस्था नगन्य नै हो,’ फर्गेट काठमान्डु, ट्युटर अफ् हिस्ट्री जस्ता प्रसिद्ध पुस्तककी लेखिका थापाले भनिन्, ‘अंग्रेजी भाषामा लेख्ने नेपाली लेखनको अवस्था त झनै कमजोर छ ।’

पहिलेको तुलनामा नयाँ पुस्ताका लेखक बढेको सकार्दै थापाले तर स्तर उठान गर्नका लागि पर्याप्त योगदान हुन नसकेको तर्क गरिन् । राज्यको तहबाट हुनुपर्ने जिम्मेवारी अझै भइनसकेको भन्दै उनले योजना बनाएरै काम गरे महिला लेखकहरुको अवस्थामा सुधार हुन सक्ने बताइन् ।

‘महिलालाई आर्थिक स्वतन्त्रता प्राप्त गर्ने अवसर त परै जावस्, भर्जिनिया उल्फले अ रुम अफ् वन्स् अउन निबन्धमा लेखेझैं महिला लेखकलाई लेख्नका लागि आफ्नो कोठा, अनि न्युनतम व्यक्तिगत स्वतन्त्रता प्राप्तिको संघर्ष नै कठिन छ,’ थापाले भनिन् ।

प्राध्यापक तथा समालोचक अरुण गुप्तोले नेपाली लेखनमा पात्र निर्माण पक्षमा अझै पनि गम्भीर चुकहरु रहेको औंल्याए । शिरीषको फूल उपन्यास र अग्निको कथा नाटकमाथि आधारित रहेर समालोचनाको पुस्तक लेखिसकेका प्राध्यापक गुप्तालेले सोधे, ‘पारिजात एउटी महिला लेखक भएर शिरीषको फूल उपन्यासमा शक्तिशाली पुरुषपात्र सुयोगवीर सिर्जना गर्न सक्नुभयो । के पुरुष लेखकले त्यसैगरी महिला पात्रको निर्माण गर्न सम्भव छैन ? छ भने किन त्यसो हुन सकिरहेको छैन ?’

उनले पुरुष लेखकहरुले महिला पात्रको मानवीय, मनोवैज्ञानिक संवेदना बुझ्न प्रयास गर्नुपर्नेमा जोड दिए । फिल्म निर्देशक तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली सिनेमा क्षेत्रमा सशक्त महिला पात्र निर्माणमा प्रयास भइे पनि उनीहरुलाई हेर्ने दृष्टिकोण अझै आधारभूत रुपमा नबदलिएको बताए ।

‘अझै पनि महिला पात्र भनेपछि प्रेमकै प्रतीक, प्रेमकै स्रोतमात्र जस्तो गरी बुझ्ने चलन छ,’ सुब्बाले भने, ‘सशक्त र जीवन्त महिला पात्र निर्माणमा काम गर्नु आवश्यक देखिएको छ ।’

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, प्रज्ञाप्रतिष्ठान कुलपति भुपाल राई, सन्चारिक अध्यक्ष विमला तुम्खेवाले आफ्नो भनाई राखेका थिए । अध्यक्ष तुम्खेवाले कुलपति राईलाई लक्षित गर्दै प्रज्ञा प्रतिष्ठानसँग सन्चारिका समूहले यसैगरी सहकार्य गर्न चाहेको भनाइ राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?