+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
49/2 (6.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

जातीय विभेदविरुद्ध एक साहित्यिक जमर्को महानन्द सापकोटाको त्यो कविता

किशोर विश्वकर्मा किशोर विश्वकर्मा
२०८१ साउन २ गते १८:०६

‘प्रत्येक नेपाली देवता हो, प्रत्येक नेपालीको घर मन्दिर हो र प्रत्येक नेपालीको गाउँ स्वर्ग हो’ भन्ने दृष्टान्त राख्ने कवि तथा भाषाशास्त्री स्वर्गीय महानन्द सापकोटाले नेपाली साहित्यको माध्यमबाट जीवन र जगतलाई फलाउन, फुलाउन गरेको प्रयास र योगदान कम महत्वपूर्ण छैन । उनले नेपाली समाजको परम्परागत धारणा र मान्यतालाई रुपान्तर गरी प्रत्येक मान्छे स्वयंमा एउटा देवता हो भन्ने शाश्वत सत्यलाई उजागर गरे ।

मान्छेभित्रको चेतनामा असल प्रवृत्तिको प्रतिस्थापन गरी मान्छेलाई देवताकै रुपमा जीवन्त तुल्याउन उनका सिर्जनाहरु बढी प्रयत्नशील रहेको पाइन्छ । वास्तवमा मान्छे स्वयंमा देवता वा राक्षस होइन, अपितु मान्छेभित्रको प्रवृत्तिले नै उसको स्वभाव र दृष्टिकोणलाई प्रतिविम्बित गरेको हुन्छ । प्रत्येक नेपालीलाई देवता मान्ने, प्रत्येक नेपालीको घरलाई मन्दिर ठान्ने र प्रत्येक नेपालीको गाउँलाई स्वर्ग देख्ने कवि तथा भाषाशास्त्री सापकोटाको विराट हेराइमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रतिको स्वार्थ र समर्पण एकाकार भएको देखिन्छ ।

शोषणविहीनता नै कुनै पनि समाजको सर्वाधिक सुन्दर पक्ष हो । विभेदहीन समाज नै वास्तवमा सभ्य समाजको धोतक पनि हो । अनेक प्रवृत्ति र दृष्टिकोणभित्र बाँचेको समाजलाई शोषण र उचनीचको त्यो अविवेकी मान्यताबाट जोगाउँदै सत्मार्गतर्फ डोर्‍याउने काममा समाजका चिन्तक, साहित्यकारको भूमिका अवश्य पनि प्रभावशाली रहेको हुन्छ । कवि तथा भाषाशास्त्री सापकोटाले नेपाली समाजभित्रका पुराना तथा थोत्रा मूल्य मान्यताविरुद्ध आफ्ना विचार तथा आग्रहहरुलाई निःसंकोच पस्किंदै जानुभयो । समाजभित्रका पुराना चलनले मान्छेको स्वाभिमान र आत्मसम्मानलाई कुल्चेको देखेर असह्य वेदनाका स्वरहरुलाई निरन्तर आफ्ना लेख तथा कवितामा प्रशस्त पोखेका पनि छन् ।

कवि तथा भाषाशास्त्री सापकोटाले २००६ सालतिर लेखेको र २००७ सालमा प्रकाशित कवितासंग्रह ‘अपुंगो’ भित्र समाविष्ट ‘अछुती’ शीर्षकको कविता जातीय छूतभेदवादी धारणा मास्ने प्रयासमा अभिप्रेरित रहेको देखिन्छ ।

‘अछुती’ कविताका सम्बन्धमा कविले आफ्नो धारणालाई यसरी व्यक्त गरेका छन्- ‘मैले अछुती भन्ने कविता लेखे । नेपाली साहित्यमा त्यस विषयको कविता त्यो नै पहिलो हो । सपना भन्ने कवितामा मैले त्यसको व्याख्यान गरेको छु । दलित वर्गका अग्रणीहरुलाई ती दुई कविताको व्याख्यान गरिदिनुहोस् भनेर अनुरोध गरे तर कसैले ठाडा कान लगाएनन् । के साहित्यको माध्यमबाट सर्वसाधारण जनताका हृदयमा यस भावनाको चाख र चासो उत्पन्न नगराई युगौंयुगदेखि ठूलो जात र सानो जात, छुती र अछुती जात भनेर फ्याक भएका जनतामा त्यो फाटो जोड्ने विचार उत्पन्न आफैं होला र ?’

यसरी साहित्यको मर्म र भावनासँग एकाकार भएर पोखिएको उपरोक्त अवधारणाले साहित्यमा सिर्जनाको गोरेटोलाई फराकिलो र समुन्नत बनाउँदै त्यस्ता सिर्जनाका स्वरहरुलाई गुञ्जायमान बनाउनेतर्फ समाजका सचेत वर्ग बढी उन्मुख हुनुपर्ने आवश्यकतालाई सापकोटाले औंल्याएका छन् ।

आजभन्दा करिब ५३ वर्षअघि रचिएको ‘अछुती’ कविताभित्रको भावले जातीय छुवाछूतको मान्यता कुनै ईश्वरीय देन नभई समाजभित्रका केही स्वार्थी तत्वद्वारा सृजित गलत परम्परा मात्र हो । ईश्वरका दृष्टिमा सबै समान भएपछि फेरि जातका आधारमा मन्दिर पस्न नहुने मान्यता आफैंमा कपोलकल्पित रहेको तथ्यलाई प्रस्तुत कवितामा अभिव्यक्त गर्दै कविले पहिले मानवजाति समान भएपनि पछि आएर त्यो किन विभाजित भएको छ ? भन्ने प्रश्नलाई सरल र सरस ढंगले प्रस्तुत गरेका छन् ।

समाजभित्रका गलत प्रवृत्तिलाई हटाउन सकिएमा मात्र त्यो समाज सुसंस्कृत र सबल बन्न सक्ने गहकिला विचारहरु प्रस्तुत गर्दै कवि सापकोटाले गलत तथा मानवअधिकार विरोधी धारणा ‘छुवाछूत’ लाई जरैदेखि उखेल्न सबैको इमान्दार प्रयासको खाँचोलाई औंल्याएका छन् । यसरी छुतभेदवादी धारणालाई निर्बल बनाउन गहकिलो भूमिका निर्वाह गर्दै मानव-मानवबीचको सुसम्बन्धलाई अझ प्रगाढ र सभ्य बनाउन एउटा शाश्वत सन्देश भएको छ- ‘अछुती’ कविता ।

साहित्य समाजको दर्पण हुनुपर्छ । सामाजिक उत्पीडन विरुद्ध सशक्त आवाज बन्नुपर्छ र चेतनाको सरस अभिव्यक्ति हुनुपर्छ भन्ने अग्रगामी मान्यता राख्ने यो कविताले समाजलाई समयानुकूल रुपान्तरण गर्ने प्रयासमा जुटेका प्रत्येक विचार र उत्साहलाई अभिप्रेरणा पनि प्रदान गरेको छ ।

कवि तथा भाषाशास्त्री सापकोटाले उक्त कविताको माध्यमबाट परम्परावादी हाम्रो मानसिकता र हीनताबोधलाई पन्छाएर मान्छे-मान्छेबीचको दूरीलाई घटाउने प्रयास गरेका छन् । वास्तवमा समाजमा जातीय छुवाछूतको मान्यतालाई समाप्त गर्न लागिपरेका संघसंस्था तथा नायकहरुले त्यो अभियानमा ‘अछुती’ कवितालाई पनि सहयात्रीको रुपमा जसरी प्रयोग गर्न सक्नुपर्थ्यो, त्यसअनुरुप त्यो कविताले प्रमुखता पाएको देखिन्न । विचारले नै विचारसँग लड्न सक्छ । वैचारिक आन्दोलनबाट नै समाजलाई सही दृष्टिकोण र सही बाटो देखाउन सकिन्छ । सामाजिक एकता र सद्भावको उच्चतम मूल्य र मान्यतालाई परिपोषण गर्दै विभेदहीन समाजको परिकल्पना गर्ने ‘अछुती’ कविताको भावधारालाई प्रत्येक मनमस्तिष्कसम्म पुर्‍याउन सकिएको खण्डमा त्यो छुवाछूतविरोधी आन्दोलनमा एउटा महत्वपूर्ण प्रयास मानिनेछ ।

जातीय छुवाछूतको कारणले राज्यको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रबाट टाढिन पुगेका दलितवर्गको उत्थानका लागि आर्थिक विकास र शिक्षा प्रचारमा जोड दिनुपर्ने मान्यता भाषाशास्त्री सापकोटाको रहेको देखिन्छ । उनको तर्क छ- ‘दलितवर्ग भनेका को हुन् ? समाजले आज दलितवर्गको परिचय र परिभाषा जान्न चाहने बेला भयो । जातको भन्दा आज अर्थको महिमा बढेर आएको छ । राजा महेन्द्रका उदार नीतिले गर्दा अब घटीबढी जात भन्ने कुरा अर्थहीन हुन आएको छ । जातका दृष्टिबाट सबै वर्ग समान भएका छन् । आर्थिक दृष्टिले हेर्दा कतिपय ठूलो जातको बाहुन पनि दलित अवस्थामा छन् । तसर्थ, देशका अथवा समाजको भलो चाहनेहरुले आर्थिक विकास र शिक्षा प्रचारमा जोड दिने बेला आएको छ ।’

राज्यको हरेक क्षेत्रबाट दलितहरु पिछडिनुपर्ने कारकतत्व ‘छुतभेदवादी’ परम्परा प्रमुख रुपमा देखिन्छ भने कानुनी रुपमा जातीय समानताको आधार खडा भएपनि व्यावहारिक रुपमा अझै छुवाछूतको उत्पीडन भोगिरहनुपरेको यथार्थलाई अस्वीकार गर्न सकिन्न । तथाकथित उच्चवर्गका केही व्यक्तिहरु आर्थिक रुपमा दलित भएपनि सामाजिक हैसियतमा अहिले पनि उनीहरु दलित भएका छैनन् । यसर्थ उनको उपरोक्त धारणाहरुप्रति पूरै सहमति जनाउन नसकिए पनि त्यो वर्ग उठाउनमा उनले देखाएको जागरुकता र सदाशयतालाई हामीले कदर र उच्च मूल्याकन गर्नैपर्छ ।

जातीय छुवाछूत विरुद्धका आवाजहरुमा आफ्ना गहकिला तथा ओजपूर्ण आवाज थपेर समाजमा नौलो क्रान्तिको शंखनाद गर्ने स्वर्गीय सापकोटाको विचार तथा आग्रहले राष्ट्रको अपेक्षालाई डोर्‍याएको छ, शोषित पीडितको आर्तनादलाई सुम्सुम्याएको छ । कुनै वाद, कुनै स्वार्थको पछि नलागेर पनि मानवीयताको पक्षमा वकालत गर्ने भाषाशास्त्री एवं कवि महानन्द सापकोटाले सामाजिक न्यायका लागि देखाएको बाटो सबैका लागि, सधैंका लागि प्रेरणादायी छ ।

हाल : अस्टिन, टेक्सास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?