+
+

बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ९:३५
क्याम्पस प्रमुख हरिशरण कुशवाहाको हत्यामा संलग्न सुरेन्द्र कुशवाहा ।

१३ मंसिर, काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका-३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद भएको थियो ।

पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता भएको डिएसपी सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?