१४ मंसिर, काठमाडौं । यो साता सेयर बजारका लागि एउटा उपलब्धि नेपाल धितोपत्र बोर्डले कार्यकारी अध्यक्ष पाउनु हो । सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो।
बोर्डले अध्यक्ष पाएको यो साता सेयर बजार पनि ७३ अंक अर्थात् २.७ प्रतिशत बढेको छ । गत साता २६७५ मा रहेको बजार यो साता २७४८ अंकमा बन्द भयो । यो साता पाँच दिन नै कारोबार भयो ।
पहिलो दिन आइतबार १३.०३ अंक घटेको बजार सोमबार १५.८३ अंक बढ्यो । मंगलबार ३३.४१ र बुधबार ३९.७० अंक बढेको बजार बिहीबार फेरि ८.३० अंक घट्यो । घट्दा थोरै अंक घट्ने र बढ्दा धेरै अंक बढ्ने माहोल देखिएकाले बजारले सकारात्मक लय समातेको अनुमान गर्न सकिन्छ ।
कारोबार रकम त्यति धेरै बढिसकेको छैन । आइतबार ७ अर्ब ७२ करोड, सोमबार ६ अर्ब ३४ करोड, मंगलबार ७ अर्ब ४४ करोड, बुधबार ९ अर्ब ३१ करोड र बिहीबार ८ अर्ब ५४ करोडको कारोबार भयो । यो साता सबै सेक्टर बढेका छन् ।
व्यापार सेक्टर २० प्रतिशत बढ्यो
यो साता व्यापार सेक्टर सबैभन्दा धेरै २० प्रतिशत बढ्यो । यसको प्रमुख कारण हो : विशाल बजार कम्पनीको मूल्य उच्च दरले बढ्नु ।
विशाल बजार कम्पनी पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । साल्ट ट्रेडिङ र विशाल बजार व्यापार सेक्टरमा सूचीकृत छन् । साल्ट ट्रेडिङभन्दा विशाल बजारको पूँजीकरण १०.५ गुणा ठूलो छ । त्यसैले विशाल बजारले समग्र सेक्टरलाई पूर्ण रुपमा प्रभाव पार्दछ ।
यो साता बुधबार र बिहीबार दुई दिन विशाल बजारको मूल्य १०–१० प्रतिशतले बढेपछि व्यापार सेक्टर सबैभन्दा धेरै बढेको हो । व्यापारपछि यो साता धेरै बढेको दोस्रो सेक्टर हो – विकास बैंक । यो सेक्टर ४.३ प्रतिशत बढ्यो ।
गत साता सबै सेक्टर घट्दा पनि विकास बैंक सेक्टर बढेको थियो । तसर्थ विकास बैंक सेक्टरप्रति लगानीकर्ता पछिल्लो समय आकर्षित भएका छन् । यो साता बैंकिङ सेक्टर भने सुस्ताएको छ । बैंकिङ जम्मा ०.२ प्रतिशत मात्रै बढ्यो भने फाइनान्स १.९ र हाइड्रोपावर २ प्रतिशत बढ्यो ।
प्रतिक्रिया 4