+
+

होटल बाराही काठमाडौंले क्षमता विस्तार गर्दै, कोठा सयमाथि पुर्‍याउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १९:१८

१४ मंसिर, काठमाडौं । होटल बाराही काठमाडौंले क्षमता विस्तार गर्ने भएको छ । काठमाडौं महानगरपालिका–२७ केशरमहलमा सञ्चालित बाराहीमा हाल एउटा भवनमा ६७ कोठा र ९८ शय्या छन् ।

अब यसलाई बढाएर १ सय १ कोठा र १ सय ६६ शय्या पुर्‍याउन लागिएको वन तथा वातावरण मन्त्रालयमा बाराहीले बुझाएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

यसरी क्षमता बढाउँदा पर्यटकले आवास सेवा पाउने र व्यवसाय फस्टाउन सहयोग पुग्ने प्रतिवेदनमा छ । यो होटलले यसअघि २०७५ सालमै प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गराएको थियो ।

व्यापारिक योजना परिवर्तन गरी होटलमै जोड

होटल बाराहीले यसअघि पहिलो र दोस्रो तलामा व्यापारिक गतिविधि सञ्चालन गर्ने र बाँकी तलामा होटल चलाउने गरी योजना बनाएको थियो । सोही अनुसार संरचना समेत बनाइएको थियो ।

तर, कोभिड–१९ का कारण योजना अनुसार व्यावसायिक रूपमा गतिविधि सञ्चालनमा आउन नसकेपछि भवनको सबै तलामा अब होटल नै सञ्चालन गर्न लागिएको हो ।

अब भवनको आन्तरिक संरचना परिवर्तन गरी कोठा र शय्या संख्या थप गर्न लागेको कम्पनीले जनाएको छ । यो होटलको कुल लगानी २ अर्ब ५० करोड रुपैयाँ बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?