+
+

कीर्तिपुरमा कर्मा र कुटुम्ब एकै स्वरमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १७:३७

१५ मंसिर, काठमाडौं । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब सांगीतिक समूह मंसिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् ।

कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्रांगणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्यूका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिए ।

कीर्तिपुर नगरपालिकाको प्रवद्र्धन र आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन तथा प्रवद्र्धन इकाई एएसक्यूको आयोजनामा कन्सर्ट हुँदैछ ।

कन्टर्समा कर्मा व्याण्डका सांगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’ लयायतका दर्जन भाकाहरू गुञ्जिने छन् । कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्टर्र्स अनुकरणीय बन्ने अपेक्षा राखिएको छ ।

कर्मा व्याण्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साँगीतिक इतिहासलाई जीवन्त बनाएको व्याण्ड हो ।

त्यस्तै, कुटुम्ब सांगीतिक समूहका रुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्ने छन् ।

नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साँगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।

कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

कन्टर्समा कर्मा व्याण्डसँगै कुटुम्बको अभूतपूर्व साँगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ । कीर्तिपुरको साँस्कृतिक, साँगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवम् आशावादी धुनले झङ्कृत गर्ने छ ।

कीर्तिपुर नगरको साँगीतिक र साँस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र साँगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असाहय बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो । ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको बृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ । डिजिटल माध्यमबाट मुलुकबाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ ।

आदि ग्रुप अन्तर्गतको एएसक्यु इकाईले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । गतवर्ष पोखरामा पौष २७ गते कन्दरा व्याण्डको ऐतिहासिक ‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको सफल व्यवस्थापन गरेको एएसक्यूले ‘एकै स्वरमा, कीर्तिपुरमा’ लाई सफल बनाउन कटिबद्ध रहेको जनाएको छ ।

कीर्तिपुरको साँगीतिक माटोबाट सुरु भएको कर्मा व्याण्डको यात्रा र कुटुम्बको लोक धुनको मोहक प्रस्तुति जीवनभर सम्झनलायक क्षण बन्ने आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?