१८ मंसिर, काठमाडौं। कीर्तिपुरमा अन्य दलहरु चुनावी प्रचारमा लागिसक्दा नेपाली कांग्रेसले उम्मेदवार तय गरिसकेको थिएन । उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी मनोनयन राखिएको अघिल्लो दिन (१ मंसिरमा) कांग्रेसले उम्मेदवार छनोट गर्यो । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय प्रदेश संसदीय बोर्डले गरेको थियो ।
उम्मेदवारका लागि सिफारिस भएका ११ जनाबाट अन्य दश जनाको चित्त बुझाएर डंगोललाई छनोट गरिएको थियो । शालिन र भद्र व्यक्तिको पहिचान बनाएका डंगोललाई टिकट वितरण गर्ने बेलामा कांग्रेस सुझवुझपूर्ण निर्णय गरिएको कांग्रेस नेताहरुले दाबी गर्छन् ।
बहालवाला नगर सभापति रहेकाले टिकटका लागि डंगोलको दाबी प्राकृतिक थियो । १ मंसिरमा उम्मेदवार निश्चित गर्नु अघि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार र पालिकाका अगुवा कार्यकर्ताको छलफल राखे ।
त्यही छलफलबाट डंगोललाई अन्य आकांक्षीले साथ दिने वातावरण बनेको थियो ।
‘बागमती प्रदेशले टिकटको निर्णय गर्नु पूर्व दूई महामन्त्री र सिफारिसमा परेका सबै जनाको छलफल भएको थियो,’ कीर्तिपुरका एक कांग्रेस नेता भन्छन् । आकांक्षीहरुको सूचीमा रहेका हिमाल कार्की कांग्रसका उम्मेदवार डंगोलको चुनावी प्रचारको संयोजक बने । अन्य आकांक्षी डंगोललाई सघाउन तयार भए । संगठित रुपमा कांग्रेस जुट्दाको परिणाम कीर्तिपुरको नतिजा भएको महामन्त्री शर्मा बताउँछन् ।
डंगोलका पक्षमा पार्टी एकवद्ध भएपछि कांग्रेसले कीर्तिपुरमा विजय यात्रा कायम राख्न सफल भएको छ । २५ वर्षपछि २०७९ सालमा पाएको सफलता निरन्तरता दिँदै सोमबार साँझ डंगोल निर्वाचित भए । जितलाई निरन्तरता दिनुपर्ने र २०८४ का लागि सन्देश प्रवाह गर्नुपर्ने चुनौती कांग्रेस सामू थियो ।
अर्कोतर्फ, कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेशकुमार कार्की र कविकुमार महर्जनले मत काट्ने चिन्ता पनि कांग्रेसमा थियो । सत्ताप्रति नागरिक प्रश्न, सरकारको नेतृत्व गर्ने एमालेको आलोचना गर्न नपाउनुको नैतिक संकट, विजयको निरन्तरताको अपरिहार्य, स्वतन्त्रको चुनौती लगायतलाई पार गर्दै डंगोलले ५३३५ मत पाएर निर्वाचित भए ।
कांग्रेसका नेताहरुका अनुसार डंगोलको जीतमा सबैभन्दा महत्वपूर्ण फ्याक्टर पार्टीभित्रको एकता रह्यो । एक जनालाई टिकट दिएपछि आकांक्षीहरु रुष्ट भएर आफ्नै दलको उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने प्रवृत्ति कीर्तिपुरमा देखिएन । डंगोलका निर्वाचन परिचालन समितिका संयोजक कार्कीले टिकट नपाउँदाको असन्तुष्टि क्षणभरमा सकिएको बताउँछन् । डंगोललाई जिताउन सबै आकांक्षी १५/१६ दिन लगातार खटिएको कार्कीले जानकारी गराए ।
जीतका लागि पार्टीका संरचनाको अतिरिक्त आन्तरिक रुपमा आइटी क्षेत्रका युवाहरुलाई पनि खटाइएको थियो । महामन्त्री शर्माले समन्वय गर्ने प्रचार प्रसार सामग्री उत्पादन गर्ने गरी आइटी क्षेत्रका १० जना युवालाई खटाइएको थियो ।
‘फ्रम कीर्तिपुर, फर कीर्तिपुर’ नारा अन्तर्गत रहेर उक्त प्रचार टोलीले सामग्री उत्पादन र प्रसारण गर्ने गरेको थियो । ‘आन्तरिक रुपमा यो टीमले काम गर्यो । सामग्री उत्पादन, तथ्यांक संकलन, कुन ठाउँका लागि कस्तो प्रचार सामग्री बनाएर त्यो टोलीले जिताउन सहयोग गर्यो,’ कीर्तिपुरका कांग्रेस नेता भन्छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघमा आवद्ध कार्यकर्ताले पनि डंगोलको प्रचारमा सघाए ।
अघिल्लो निर्वाचनमा नगर प्रमुख सहित ९ वडामा कांग्रेसले जितेको थियो । डंगोलका लागि वडाध्यक्ष, संघीय सांसद र प्रदेश सांसद आफ्नै दलको हुँदा जित्न थप बल पुग्यो । काठमाडौं–१० मा कांग्रेसबाट संघीय संसदमा राजन केसी र प्रदेशतर्फ (क) मा पुकार महर्जनले जितेका थिए ।
पार्टीभित्रको एकता र कांग्रेस र कीर्तिपुरका जनताको सामिप्यताले जीतको आधार भएको यसै क्षेत्रका संघीय सांसद एवं कांग्रेस केन्द्रीय सदस्य राजन केसी बताउँछन् । कीर्तिपुरको नतिजा कांग्रेसको पक्षमा ल्याउनका लागि संगठित बलको साथै केन्द्रीय सदस्य केसी र क्षेत्रीय सभापति महर्जनलाई श्रेय जाने महामन्त्री शर्मा बताउँछन् ।
डंगोलको पक्षमा माहोल बनाउन चुनाव प्रचारको अन्तिम दिन १३ मंसिरमा दुई महामन्त्री थापा र शर्मा कीर्तिपुर पुगेर चुनावी भाषण गरे । उपनिर्वाचनको केन्द्रीय तहबाट समन्वय महामन्त्री शर्माले गरेका थिए । कीर्तिपुरका स्थानीय नेताका अनुसार चुनावी सभा नगर्ने रणनीतिमा कांग्रेस थियो । १३ मंसिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका महासचिव शंकर पोखरेल चुनावी सभाका लागि कीर्तिपुर आउने भएपछि कांग्रेसले पनि सभा गर्ने निर्णय लिएको थियो ।
‘सकेसम्म घरदैलोमा हाम्रो ध्यान थियो । एमाले र माओवादीले सभा गर्ने भएपछि दुई महामन्त्रीलाई बोलाएका हौं,’ कीर्तिपुरका एक नेता भन्छन्,‘सभापति देउवालाई ल्याउन खोज्ने साथीहरु पनि थिए । यो बेला महामन्त्रीहरु नै ठीक हुन्छ भनेर उहाँहरुलाई बोलाएका हौं ।’
एमालेसँग सत्ता सहकार्यमा रहेकाले प्रतिस्पर्धी शक्तिलाई आलोचना गरेर मत माग्न समेत कांग्रेसका लागि सुविधा थिएन । १३ गतेको चुनावी सभामा समेत प्रतिस्पर्धी शक्ति एमालेप्रति नेताहरुले आलोचनाका शब्द खर्च गरेनन् ।
२०५५ सालमा ललितकला क्याम्पसमा अखिलको वर्चस्व अन्त्य गर्दै डंगोल स्ववियु सभापति थिए । त्यसबेला महामन्त्री थापा त्रिचन्द्रमा स्ववियुको सभापति हुँदा महामन्त्री शर्मा र गोविन्द भट्टराईहरु नेविसंघको केन्द्रीय नेतृत्वमा थिए । त्यस समय अखिलको पकडलाई भत्काएका डंगोलको प्रमुख प्रतिस्पर्धी भने एमाले बन्न सकेन ।
डंगोलको जितबारे महामन्त्री शर्मा संविधान प्रतिको अपनत्व र नीति निर्माण गर्ने कुराको नेतृत्व कांग्रेसले नै गर्नेमा जनताको विश्वास रहेको बताउँछन् । शर्मा भन्छन्, ‘सहकारी ठगीमा परेकालाई अनुसन्धानको दायरामा ल्याउने कार्य कांग्रेसकै अडानका कारणले सम्भव भयो । त्यसको प्रभाव मतदातामा पर्यो,’ शर्माले भने,‘कांग्रेसले ल्याएको परिणामको सकरात्मक दबाब प्रधानमन्त्रीलाई पनि हुन्छ ।
नवनिर्वाचित डंगोल संगीतकर्मी समेत हुन् । कांग्रेसले जागरण अभियान चलाउँदा नेवारी भाषामा उनले स्वर दिएका थिए । डंगोललाई शालिन र भद्र व्यक्तिका रुपमा महामन्त्री शर्मा चित्रण गर्छन् ।
प्रतिक्रिया 4