 
																						१८ मंसिर, विराटनगर । कोशी प्रदेशमा आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजाबारे नेकपा एमाले र नेपाली कांग्रेसले अनपेक्षित भनेका छन् । जित्ने आंकलन गरेकै ठाउँमा पनि हार व्यहोर्नपरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए।
‘हाम्रा लागि अपेक्षित परिणाम होइन, जित्ने आंकलन गरेको ठाउँमा पनि हार्यौं,’ खतिवडाले अनलाइनखबरसँग भने । उनका अनुसार पार्टीले यस्तो नतिजा आउनुका कारणबारे चाँडै समीक्षा गर्नेछ । ‘के कमजोरी भयो भन्ने समीक्षा गर्छौं,’ खतिवडाले भने ।
कोशीमा एमालेको जस्तै बुझाइ सत्तारुढ सहयात्री नेपाली कांग्रेसको पनि छ । उसले पनि अपेक्षाभन्दा फरक नतिजा आएको विश्लेषण गरेको छ ।
‘हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन,’ कोशी कांग्रेसका उपसभापति रमेशजंग रायमाझीले भने, ‘जनतासँग टाढा हुन नहुने सन्देश यो उपनिर्वाचनले दिएको छ ।’ एमालेले जस्तै चुनावी परिणामलाई समीक्षा गरेर अघि बढ्ने उनी बताउँछन् ।
कांग्रेस र एमालेले अनेपक्षित भनिरहँदा विपक्षी दल नेकपा माओवादी केन्द्र भने उत्साहित देखिएको छ । माओवादी केन्द्र, कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’ ले उपनिर्वाचनको नतिजाबाट आफूहरू उत्साहित बनेको टिप्पणी गरे ।
‘यो नतिजाले हामीलाई उत्साहित बनाएको छ, यद्यपि हामीले जित्छौं भनेको दुई स्थानमा थोरै मतले हार्यौं,’ उनले अनलाइनखबरसँग भने, ‘अब मिसन २०८४ को तयारीमा लाग्छौं ।’
कोशीका आठ स्थानमा उपनिर्वाचन भएकोमा तीन स्थानमा जित निकाल्दै माओवादी पहिलो बनेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले दुई/दुई क्षेत्रमा जित निकालेको थियो ।
एउटा स्थानमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अहिले उपनिर्वाचन भएका यी आठ स्थानमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र एमालेले २ स्थानमा जित निकालेको थियो । यी आठवटै स्थानमा माओवादीका जनप्रतिनिधि थिएनन् ।
तर एमाले–कांग्रेसको जित खोस्दै माओवादी पहिलो दल बनेको छ । माओवादीले एउटा गाउँपालिका अध्यक्ष र दुई वटा वडामा जित निकालेको छ ।
एमाले र कांग्रेस दुई वटा वडामा सीमित बन्दा एउटा वडामा भने स्वतन्त्रले जित निकालेको छ ।
कांग्रेसले तेह्रथुमको लालिगुराँस नगरपालिका–८ र सुनसरीको गढी गाउँपालिका–६ मा जित निकालेको छ ।
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ र ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५ एमालेले जित निकालेको छ ।
माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, उदपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को वडा अध्यक्ष जितेको छ ।
उपनिर्वाचन भएको कोशी प्रदेशको ८ स्थानमा ४३ हजार ११ जना मतदाता थिए ।
उपनिर्वाचनमा २९ हजार ४५४ मत खसेको थियो । ८ स्थानमा माओवादीले जम्मा ११ हजार ९०३ मत पाएको छ भने कांग्रेसले ८ हजार ७४ र एमालेले ७ हजार ५३० मत पाएको छ ।
 
                









 
                     
                                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4