 
																			१८ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले उपनिर्वाचनको नतिजाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकाले एमाले नेताहरूको ध्यान पनि उतै तानिएको छ ।
संभवतः प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि उपनिर्वाचनको नतिजाबारे एमालेमा समीक्षा र निर्णय हुन सक्छ । किनकि ओलीको अनुपस्थितिमा अरु नेताबाट पार्टीको धारणा बन्न नसक्नु केही वर्षयता एमालेको परम्परा बनेको छ ।
अरु दलका नेताहरूले भने उपनिर्वाचनबारे सार्वजनिक धारणा राखिरहेका छन् । उपनिर्वाचनको नतिजाबाट हौसिएको नेकपा माओवादी केन्द्रले त सार्वजनिक वक्तव्य जारी गररै आफ्नो कुरा राखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार वक्तव्य जारी गरेर आफू नेतृत्वको सरकारले गरेको कामलाई उपनिर्वाचन मार्फत् जनताबाट समर्थन मिलेको निष्कर्ष सार्वजनिक गरेका छन् ।
‘… हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौं’ वक्तव्यमा लेखिएको छ, ‘निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमत दुवै हिसाबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’
थप अगाडि बढेर प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई हराउन सकेको सन्देश दिएका छन् । ‘विभिन्न स्थानमा बनेको अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ’, वक्तव्यमा भनिएको छ ।
प्रचण्डले उपनिर्वाचनको नतिजाबाट माओवादी आगामी चुनावमा एक्लै भिड्न सक्ने सन्देश पनि रहेको उल्लेख गरेका छन् ।
माओवादीको विगत हेर्दा उपनिर्वाचनमा यतिको उत्साह स्वाभाविक हो । ०७४ यताका चुनावहरूमा कहिले कांग्रेस, त कहिले एमालेसँग गठबन्धन गर्दै आएको माओवादीले यसपटक एक्लै लडेको थियो ।
नतिजा भने उत्साहपूर्ण आयो । ०७९ मा आफूले जितेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष माओवादीले सुरक्षित गर्यो । पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीविरुद्ध कांग्रेस–एमालेको साझा उम्मेदवार थियो ।
तर गठबन्धनविरुद्ध जितेर आफ्नो जित सुरक्षित गरेको माओवादीले अरु थप दुई पालिकाको पदाधिकारी थप्यो । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड गाउँपालिका उपाध्यक्ष जितेकाले प्रचण्ड आफै उत्साहित बन्न पुगेको बुझ्न सकिन्छ ।
७ वडाध्यक्ष समेतगरी ११ स्थानमा जितेर उपनिर्वाचनको नतिजामा आफ्नो पार्टी दोस्रो बनेको उत्साह माओवादी नेताहरूले लुकाएका छैनन् । ४४ स्थानको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा माओवादीले जितेको सङ्ख्या दोस्रो धेरै हो । ८ स्थान जितेको एमाले तेस्रो बन्यो ।

अर्थात् एक्लै लडेर जितेको मात्र नभएर एमालेलाई पछि पार्न सकेकोमा माओवादी नेताहरू उत्साहित रहेको सहज अनुमान गर्न सकिन्छ । अन्यथा, यति कम सङ्ख्यामा सम्पन्न उपनिर्वाचनको नतिजालाई आधार मानेर धेरै उत्साहित अथवा निराश भइहाल्नेपर्ने देखिंदैन ।
तर राजनीतिक पृष्ठभूमिका कारण एमाले उछिन्दा माओवादीमा उत्साह देखियो । जसको बलियो उदाहरण कीर्तिपुर नगरपालिकामा सम्पन्न मेयर पदको उपचुनाव हो ।
यहाँ एमाले उम्मेदवार सुरेन्द्र मानन्धरभन्दा माओवादीका शिवशरण महर्जनले धेरै मत ल्याए । एमालेका मानन्धरले ४ हजार ३३७ मत पाउँदा माओवादीका महर्जनले ४ हजार ५५५ मत पाएका थिए । यो नतिजालाई लिएर माओवादी पंक्ति उत्साहित बन्यो, प्रचण्डकै वक्तव्यमा पनि यो कुरा लुकेन ।
जबकि कीर्तिपुरको मेयर कांग्रेसका कृष्णमान डंगोलले जितेको हो । तर ५ हजार ३३४ मत ल्याएर डंगोलले जितेपनि माओवादी खुसी हुनुमा एमालेलाई आफ्नो उम्मेदवारले पछि पार्न सक्नु हो ।
अनि माओवादीले जितेको सङ्ख्या र बढाएको जममतकै कारण एमाले पंक्ति प्रतिक्रियाविहीन बन्न पुगेको छ । नत्र एमालेले थपेको सङ्ख्या आफैंमा निराश भइहाल्नेपर्ने होइन । ०७९ को चुनावमा हारेको दैलेखको महाबु गाउँपालिका अध्यक्ष, बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष र दैलेखको गौरीशंकर गाउँपालिका उपाध्यक्ष जितेको छ ।
यो उपचुनावमा एमालेले गुमाएको भनेको २ वटा वडा हो । एमालेले जितेको ७ वडामा उपनिर्वाचन भएपनि उसले यसपटक ५ वडामा मात्रै जितेको छ । यस्तो अवस्थामा मतदातालाई धन्यवाद दिने, सिट सङ्ख्या बढेमा सकारात्मक निष्कर्ष निकाल्ने जस्ता धारणा सार्वजनिक गर्न एमाले नेताहरूलाई सोचिरहनुपर्ने कुरा होइन ।
तर एमाले पंक्ति हर्ष न विस्मातकै परिस्थितिमा गुज्रिरहेको छ । ‘अपेक्षित नतिजा आउन सकेन, त्यसैले खुसी भइराख्नुपर्ने अथवा कुनै वक्तव्य जारी गर्नुपर्ने भएन’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘तर जति प्राप्त गर्यौं, त्यो उपलब्धि हो । यसलाई निराशाजनक नतिजाका रूपमा लिदैनौं ।’
यसको अर्थ आफैंले थपेको सिट सङ्ख्या भन्दा पनि माओवादीले गरेको प्रगतिले एमाले खुलेर रमाउन नसकिरहेको प्रष्ट हुन्छ । एमालेका एक नेता यस्तो तथ्य स्वीकार्छन् । उनी भन्छन्, ‘कांग्रेसबाट त हामीले मात्र होइन, अरुले पनि सिट सङ्ख्या खोसेको छ । तर माओवादी सहित साना शक्ति कमजोर पार्ने उद्देश्यलाई उपनिर्वाचनले सहयोग गरेन ।’
हुनपनि माओवादीलाई कमजोर पार्न उसको पकड रहेको क्षेत्रहरूमा एमाले नेताले कांग्रेसको रुख चिन्हमा उम्मेदवारी दिने र मतदान गर्ने जस्ता निर्णयसम्म भयो । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्षमा कांग्रेस नेता मोतीराम खत्री एमालेको पनि समर्थनमा उम्मेदवार थिए । एमालेले पनि रुख चिन्हमा मतदान गर्दा खत्रीले ५९० मत ल्याएर वडाध्यक्ष जिते भने माओवादीका जसीराम बस्नेतले ५३७ मत ल्याए ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा त रुख चिन्ह लिएर एमाले नेता उम्मेदवार बन्दा पनि जित्न सकेन । एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन रुख चिन्हबाट उम्मेदवार थिइन् । तर माओवादीकी नरपुरा बुढाले ३ हजार ६२७ मत ल्याएर पालिका उपाध्यक्ष जित्दा एमालेकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन् ।
पुथा उत्तरगंगाकै २ नम्बर वडामा त एमाले उम्मेदवारले माओवादीसँग प्रतिस्पर्धा गर्नै चाहेन । कांग्रेसकै समर्थनमा वडाध्यक्षका उम्मेदवार बनेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिँदा माओवादीका जगत घर्ती निर्विरोध भए ।
माओवादीले पनि रुकुम पूर्व र पश्चिमका यी क्षेत्रलाई राष्ट्रिय सन्देशका रूपमा प्रचार गरिरहेको छ । र, एमाले पंक्ति रक्षात्मक बन्न पुगेको छ ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्य भने उपनिर्वाचनमा प्राप्त नतिजाबाट एमाले खुसी नै हुनुपर्ने बताउँछन् ।
‘कसैले जितेको स्याइ हुइयाँ गर्नुभन्दा पनि तथ्यहरू हेरेर वास्तविक निष्कर्ष निकाल्नु सही हुन्छ’ आचार्य भन्छन्, ‘उपनिर्वाचनमा एमालेले राम्रो नाफा गरेको छ ।’
एमालेसँग रहेको २०७ पालिका अध्यक्ष/मेयर, २४२ उपाध्यक्ष/उपमेयर र २ हजार १२५ वडाध्यक्ष हेरेर धारणा बनाउनुपर्ने उनको तर्क छ ।
जितेको क्षेत्रमा उत्साह
पालिका पदाधिकारी जितेको क्षेत्रका एमालेमा उत्साह छ । विशेषगरी बाजुराको स्वामीकात्तिक र दैलेखको महाबुमा एमाले उम्मेदवारले जित्दा त्यहाँका नेताहरू प्रशन्न देखिन्छन् ।
यी दुवै क्षेत्रमा केन्द्रीय नीति भन्दा पनि स्थानीय पहलकदमीले काम गरेकाले उनीहरू प्रशंन्न हुनु स्वभाविकै हो । स्वामीकात्र्तिकको पालिका उपाध्यक्ष जित्न एमालेले माओवादीको समर्थन लिएको थियो ।
त्यहाँका माओवादीले पनि केन्द्रीय नीति र नेतृत्वसँग विद्रोह गरेरै एमाले उम्मेदवारलाई समर्थन गरेका थिए । ‘हामीले उहाँ फरक अभ्यास गर्यौं, एकप्रकारले भन्दा वाम एकताको आधार तयार पार्यौं’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘पहिले माथिबाट गरिएको एकता टिकेन, अब तलबाट वाम एकताको जग बनाउने सन्देश दिएका छौं ।’

माओवादीको समर्थन लिएरै एमालेकी सुलोचना कुमारी भण्डारीले १७४० मत सहित पालिका उपाध्यक्ष जित्दा कांग्रेसकी पुल्तीसरा शाहीले १४७४ मत पाएकी थिइन् । ०७९ मा यहाँ कांग्रेसले जितेको थियो ।
यसअघि कांग्रेसले जितेको पालिका प्रमुख खोस्न एमालेले दैलेखको महाबुमा त एकीकृत समाजवादीकै नेतालाई टिकट दियो । उपनिर्वाचन हुनु केही समयअघि मात्र पार्टीमै फर्काएर जंगबहादुर शाहीलाई एमालेले पालिका अध्यक्ष पदको उम्मेदवार बनाएको थियो ।
पुरानै पार्टीमा फर्किएका जंगबहादुरले राम्रै मतान्तरले जिते । कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत ल्याउँदा ३१२७ मत पाएर एमाले उम्मेदवार शाहीले अध्यक्ष जिते । शाहीले २०७४ मा पनि अध्यक्ष जितेका थिए । तर पार्टी विभाजन भएकाले शाही एकीकृत समाजवादीतिर लाग्दा एमालेले २०७९ को चुनाव हार्यो ।
उपनिर्वाचनमा एमालेले पालिका पदाधिकारी जितेको अर्को क्षेत्र हो, गौरीशंकर । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा यसपटक भएको जित स्वभाविक रहेको पोलिटब्यूरो सदस्य पार्वत गुरुङ बताउँछन् ।
‘यो स्वभाविक जित हो, त्यसैले यो जितमा पार्टीको संगठनात्मक अवस्था र जनताको साथभन्दा अर्को कारण छैन’ उनी भन्छन्, ‘यसअघि त पार्टी विभाजन भएको, हाम्राविरुद्ध गठबन्धन बनेको र केही आन्तरिक कारण पनि भएकाले प्राविधिक रूपले मात्र हारेका थियौं ।’
यद्यपि उपनिर्वाचनमा भएको जितमा पार्टी पंक्ति खुसी नै रहेको उनी बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4