News Summary
Generated by OK AI. Editorially reviewed.- इसिमोडको विश्लेषणअनुसार हिन्दुकुश हिमालय क्षेत्रका चार देशले सन् २०२५ मा १० भन्दा बढी ठूला विपद् व्यहोरेका छन्।
- सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा बाढी, पहिरो र ग्लेसियल लेक आउटबर्स्ट फ्लडले करिब १२ लाख मानिस विस्थापित भएका छन्।
- पूर्वसूचना प्रणालीले सप्तरीको खाँडो खोलामा बाढीको सतर्कता जारी गरी करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेको छ।
काठमाडौं । हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका आठ देशमध्ये चार देशले सन् २०२५ मा १० भन्दा बढी ठूला विपद् व्यहोरेको इसिमोडको विश्लेषणले देखाएको छ । यसले हिन्दुकुश हिमालय क्षेत्र झन् बढी संवेदनशील बन्दै गएको संकेत गरेको छ ।
सन् २०२५ मा विश्वभर भएका विपदध्ये ठूलो हिस्सा एसियामा परेको थियो, जसको प्रभाव दक्षिण र पूर्वी एसियाका केही भाग समेट्ने हिन्दुकुश हिमालय क्षेत्रमा पनि देखियो ।
हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले सन् २०२४ मा मात्रै विपद्बाट ६ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक क्षति व्यहोरेका थिए । ती विपदका घटना अधिकांश बाढी, पहिरो र आँधीसँग सम्बन्धित थियो । यो अवस्था सन् २०२५ मा पनि जारी रह्यो ।
तीव्र मनसुनी वर्षाले नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत देशका विभिन्न क्षेत्रमा पटक–पटक बाढी र पहिरो निम्त्याएको थियो । केही स्थानमा हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) जस्ता अन्य प्रकोप पनि देखिएका थिए । हिन्दुकुश हिमालय क्षेत्रभर करिब १२ लाख मानिस विस्थापित वा प्रत्यक्ष रूपमा प्रभावित भएको इसिमोडले जनाएको छ ।
विश्वव्यापी रूपमा सन् २०२५ मा विपद्सम्बन्धी आर्थिक क्षति १६९ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको अनुमान इसिमोडले गरेको छ । तुलनात्मक रूपमा हिन्दुकुश हिमालय क्षेत्रमा भएको क्षतिले जटिल भौगोलिक बनावट र उच्च जोखिम भएको क्षेत्रमा चरम मौसमी घटनाले कति असमान रूपमा असर पार्न सक्छ भन्ने देखाएको छ ।
तथ्यांकअनुसार म्यानमार, पाकिस्तान र चीनले पनि सन् २०२५ मा मनसुनजन्य बाढीको श्रृंखला व्यहोरेका थिए । त्यसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा विपद्को प्रभाव बढ्नुको प्रमुख कारण बहु–जोखिम (मल्टि–हाजार्ड) घटनाको वृद्धि हो । बहु–जोखिम भन्नाले बाढी, पहिरो वा खडेरीजस्ता एकभन्दा बढी जोखिम एकै समयमा देखिनु वा एउटा जोखिमले अर्को जोखिम निम्त्याउनु हो ।
यसका उदाहरणका रूपमा भारतको उत्तराखण्डमा सन् २०१३ को केदारनाथ बाढी, भारतकै सिक्किममा सन् २०२३ को साउथ ल्होनाक हिमताल विस्फोट र नेपालमा सन् २०२१ को मेलम्चीको बाढीलाई इसिमोडले उल्लेख गरेको छ ।
‘हालका वर्षहरूले पहाडी क्षेत्रमा बाढी, पहिरो र अन्य जोखिमहरू एकअर्कासँग जुध्दै जाँदा घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षति झन् बढिरहेको देखाएका छन्,’ इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले क्षेत्रीय प्रवृत्तिबारे टिप्पणी गर्दै भनेका छन् ।
पूर्वसूचना प्रणालीले क्षति कम गर्न मद्दत, निरन्तर लगानी अत्यावश्यक
सन् १९७५ देखि २०२४ सम्मको दीर्घकालीन तथ्यांकले भने हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०१३ पछि विपद्बाट हुने मृत्यु दर र प्रभावित जनसंख्यामा कमी आएको देखाएको छ । यद्यपि तथ्यांकको अपूर्णताले यस प्रवृत्तिमा असर गर्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । तर तयारी तथा पूर्वसूचना प्रणालीमा सुधारले पनि सकारात्मक योगदान गरेको हुनसक्ने उनीहरूको भनाइ छ ।
‘संख्या अझै चिन्ताजनक छन्, तर सन् २०१३ पछिको प्रवृत्तिले बर्सेनि कम मानिस प्रभावित भइरहेको देखाउँछ, जसले क्षेत्रका केही भागमा जलवायु सेवा र पूर्वतयारीमा सुधार भएको संकेत गर्न सक्छ,’ इसिमोडका जलविज्ञ मनिष श्रेष्ठले भनेका छन्, ‘जोखिम बढिरहेकाले पूर्वतयारी र योजनामा निरन्तर लगानी अत्यन्त महत्वपूर्ण छ ।’
केही बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणालीले क्षति कम गर्न मद्दत गरेको रिपोर्टमा उल्लेख छ । पूर्वी नेपालमा सन् २०२४ मा सप्तरीको खाँडो खोलामा जडान गरिएको बाढी पूर्वसूचना प्रणालीबाट जारी गरिएको सतर्कताले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब ६० हजार मानिसलाई जानकारी दिन र सुरक्षित स्थानमा सार्न सहयोग पुगेको इसिमोडले जनाएको छ ।
विश्लेषकहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा भविष्यमा थप क्षति घटाउन जोखिम–आधारित लगानी आवश्यक छ । यदि लगानी निर्णयमा जोखिम र संवेदनशीलतासम्बन्धी तथ्यांक समावेश गरिएन भने जलवायु परिवर्तनका कारण बढिरहेका चरम घटनासँगै जोखिममा रहेका समुदायले अझ ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा परिवर्तन आउँदा र चरम घटनाको आवृत्ति तथा तीव्रता बढ्दै जाँदा आगामी वर्षहरूमा बहु–जोखिम अवस्था अझ गम्भीर बन्ने सम्भावना छ । यसले हिन्दुकुश हिमालय क्षेत्रका जोखिममा रहेका समुदायलाई झन् ठूलो क्षतिको सामना गर्न बाध्य पार्न सक्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया 4