+
+

राजमान महर्जन : घरदैलोमा जुन प्रश्नलाई नजरअन्दाज गरे, त्यही बन्यो हारको कारण

अहिले राजमानसहित कीर्तिपुरका स्वतन्त्र उम्मेदवारहरु हारको समीक्षा गर्न जुटेका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ मंसिर १९ गते २१:३९

१९ मंसिर, काठमाडौं। कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा राजमान (महर्जन) मानवले सबैभन्दा बढी खेप्नुपरेको प्रश्न थियो, ‘स्वतन्त्र नै ११ जना हुनुहुन्छ, तपाईंले कसरी जित्नुहुन्छ ?’

राजमान अरु उम्मेदवार ‘कोही मतदान केन्द्र वा मत गणनामा मान्छे राख्नलाई डमी र कोही पार्टीका बागी’ भएको भन्दै स्वतन्त्र उम्मेदवार भनेकै आफू मात्र रहेको भन्दै सम्झाउँथे । पूर्वको धरानबाट मेयर हर्कराज साम्पाङ समेत उनको चुनावी सभामा आएपछि राजमानलाई ‘आधिकारिक स्वतन्त्र’का रुपमा ब्राण्डिङ गर्न केही सहज पनि भयो ।

मेयरमा उम्मेदवारी घोषणा गरिसकेका स्वतन्त्र उम्मेदवार अधिवक्ता नरेश श्रेष्ठले समेत साम्पाङलाई साथमा राखेर राजमानलाई समर्थन गर्ने घोषणा गरेपछि उनी थप उत्साही बने । तर, गएको सोमबार राति सार्वजनिक भएको मतपरिणाम राजमानको पक्षमा आएन ।

हर्क साम्पाङको साथले उत्साही राजमान – Online Khabar

नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर कीर्तिपुरको मेयरमा निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन ४ हजार ५ सय ५५ मतसहित दोस्रो स्थानमा रहे । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धर ४ हजार ३ सय ३७ मतसहित तेस्रो स्थानमा रहे भने राजमान २ हजार ३६ मतसहित चौथो भए ।

स्मरणीय चाहिँ के भयो भने अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार ३१४, दिनेशकुमार अधिकारीले १ हजार ४८, नवरथकुमार बानियाँले ४३८, मिम महर्जनले ११८, आनन्द महर्जनले ४६, नरेश श्रेष्ठले ४१, प्रेमबहादुर महर्जनले २०, धर्मरत्न मानन्धरले १३, रामकृष्ण महर्जनले १२ र नरेशराज पाण्डेले ५ मत ल्याए ।

यो हिसाबले हेर्दा स्वतन्त्र मतजति सबै एकठाउँमा आएको भए ५ हजार ९१ मतसहित दोस्रो स्थान हुन्थ्यो । अर्थात्, चुनावी अभियानका क्रममा नजरअन्दाज गरेको प्रश्न नै राजमानका लागि महँगो साबित भयो ।

अहिले राजमानसहित कीर्तिपुरका स्वतन्त्र उम्मेदवारहरु हारको समीक्षा गर्न जुटेका छन् । राजमानलाई समर्थन गरेका नरेशको पहलमा केही दिनमै औपचारिक समीक्षा बैठक पनि हुँदैछ । यद्यपि, सबैको प्रारम्भिक निचोड एउटै छ, ‘स्वतन्त्रजति सबै एकठाउँमा उभिन नसक्दा परम्परागत दलहरु नै हाबी भए ।’

स्वतन्त्र मिलाउने असफल प्रयास

२ मंसिरमा उम्मेदवारी दर्ता गर्नुअघि कीर्तिपुरमा चार जना स्वतन्त्र उम्मेदवारको दाबेदारी देखिएको थियो । स्वतन्त्रहरुलाई एकठाउँमा ल्याउनुपर्छ भन्दै अभियान चलाइरहेका राजाराम तण्डुकार, सनत महत लगायत समेतको पहलमा अधिवक्ता नरेश श्रेष्ठ, सरसफाइ अभियन्ता राजमान महर्जन, अभियन्ता कविकुमार महर्जन र वातावरण विज्ञानका प्राध्यापक डा. नवरथ बानियाँबीच बैठक बस्यो ।

श्रेष्ठका अनुसार, पहिलो बैठकबाट चार जनामध्ये एक जना मात्र स्वतन्त्र उम्मेदवारका रुपमा अघि बढ्ने निर्णय भएको थियो । ‘स्वतन्त्रबाट एक जनाको मात्र उम्मेदवारी परोस् भन्ने अरु साथीभाइको पनि चाहना थियो, त्यसैले हामी चार जना छलफलमा बसेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यतिबेलासम्म अरु स्वतन्त्र उम्मेदवारहरु आउनु भएकै थिएन, डा. बानियाँको पनि तीन जनाको सार्वजनिक भएपछि घोषणा आएको थियो ।’

यद्यपि, बानियाँले मैदानमा उत्रिने निर्णय गरेको थाहा पाएपछि बोलाएर छलफल गरिएको उनी सम्झन्छन् । ‘पहिलो बैठकमा सबै मिलेर एक जना उठ्ने भन्ने कुरा भएको थियो, तर दोस्रो पटकबाट कविकुमार महर्जन आउनु भएन’, उनले थपे, ‘तेस्रोमा बैठकमा डा. नवरथ बानियाँ पनि अनुपस्थित हुनुभयो ।’

स्वतन्त्रलाई एकठाउँमा ल्याउने प्रयास गरेकाहरुका अनुसार, चार स्वतन्त्रमध्येबाट एक छान्नलाई एउटा विधिसमेत तयार गरिएको थियो । ‘त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरुको सहयोग लिएर सुरुमा कसको पक्षमा राम्रो माहोल छ भन्नेबारे सर्भे गर्ने भनेका थियौं’, यसबारे जानकार एक स्वतन्त्र अभियन्ताले भने, ‘अर्को कीर्तिपुरका बुद्धिजीविबीच आफ्नो प्रस्तुति राख्ने र त्यसको मूल्यांकन गरेर जसको सबैभन्दा उत्कृष्ट देखिन्छ, उसलाई अरुले समर्थन गर्ने भनिएको थियो ।’

सुरुमा चारै जना यो प्रस्तावमा तयार भएपनि महर्जन वाक कलालाई मात्र आधार बनाउँदा सही मूल्यांकन नहुने भन्दै पछि हटेको ती अभियन्ता बताउँछन् । ‘बाँकी रहेका ३ जनाले कीर्तिपुरको ६ स्थानमा संयुक्त कोणसभा पनि गरेका थियौं’, श्रेष्ठ पनि भन्छन्, ‘तर पछि बानियाँ सर पनि आफ्नो तयारी पूरा नभएको भन्दै आउन छाड्नुभयो ।’

अन्तिममा राजमान र नरेश मात्र एक ठाउँमा भए । २ कात्तिकमा नरेशले पनि मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिए । यद्यपि, दुईबीच सम्वाद जारी नै रह्यो र १० मंसिरमा धरानका मेयर हर्क साम्पाङ समेतको उपस्थितिमा श्रेष्ठले राजमानलाई सहयोग गर्ने घोषणा गरे ।

‘खासमा मैले त्यतिबेला हचुवाका भरमा उहाँलाई सहयोग गर्ने निर्णय गरेको थिइनँ, पहिले जुन कार्यविधि प्रस्ताव गरेका थियौं, त्यसअनुसार पनि उहाँ अगाडि हुनुहुन्थ्यो’, श्रेष्ठले थपे, ‘त्यसमाथि उहाँको प्रचार एकदमै अगाडि बढिसकेको थियो, मान्छे पनि सादगी र समाजसेवाको पृष्ठभूमि भएकाले उहाँ योग्य उम्मेदवार हुनुहुन्छ भन्ने लागेर समर्थन गरेको थिएँ ।’

तर, स्वतन्त्र मत तितरवितर हुँदा सोचेजस्तो परिणाम आउन नसकेको राजमानको चुनावी अभियानमा खटिएकाहरुको बुझाइ छ । ‘सबै एकठाउँमा आउन सकेको भए फरक किसिमको सन्देश पनि जान्थ्यो, एउटा माहौल आउँथ्यो, त्यसले स्वतन्त्र उम्मेदवारलाई जिततर्फ डोहोर्‍याउन सक्थ्यो’, राजमानको चुनावी अभियानमा खटिएकी समाजसेवी ललिता महर्जन भन्छिन्, ‘यद्यपि, उहाँको हारको कारण त्यति मात्र चाहिँ होइन ।’

राजमानकी पत्नी समेत रहेकी उनको बुझाइमा कीर्तिपुरमा धेरै विकट क्षेत्रहरु रहेकाले चुनाव चिह्नबारे पनि सबैलाई बताउन सकिएन । ‘चुनाव चिह्न नै ढिला पाउनु पनि एकदमै समस्या भयो, जनतालाई स्वतन्त्रलाई मत दिने भन्ने त भयो’, उनले भनिन्, ‘तर, केमा भोट हाल्ने भन्ने नै भएन ।’ त्यसबाहेक कतिपय समर्थन गर्छु भन्नेहरुले पनि धोका दिएको राजमानको विश्लेषण छ ।

‘मतदाताले पुरानाको विकल्प खोजे, तर मत बाँडियो’

राजमानलाई सहयोग गर्न कीर्तिपुर गएकाहरुको बुझाइमा, मतगणनाको नतिजा हेर्दा जनताले स्वतन्त्रलाई चाहेकै देखिन्छ ।

‘तर, जसरी स्वतन्त्र उम्मेदवारहरु तितरबितर भए, यसले प्राविधिक रुपमा हार हुन पुग्यो’, स्वतन्त्र उम्मेदवारीको पक्षमा वकालत गर्दै आएका अभियन्ता राजाराम तण्डुकार भन्छन्, ‘किनकि, सबै स्वतन्त्रले पाएको मत जोड्दा ५ हजार पुग्नु चानचुनको कुरा होइन, यो मतदाताको अथाह विश्वास हो ।’

लौरो चुनाव चिह्न लिएर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नंं ३ बाट उम्मेदवार समेत बनेका तण्डुकारको बुझाइमा कीर्तिपुर उपचुनावको नतिजाले ग्रामिण इलाकामा समेत मुख्य राजनीतिक दलहरुलाई मन नपराउनेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ ।

‘मुख्य दलहरुप्रति वितृष्णा नभएको भए यत्तिका मत आउने थिएन’, उनी भन्छन्, ‘यद्यपि, अझै मिहिनेत गर्न सकेको भए जित निकाल्न सकिने रहेछ भन्ने सन्देश प्राप्त भएको छ ।’ कीर्तिपुरको नतिजालाई आगामी दिनका निर्वाचनमा देशैभरि स्वतन्त्र उम्मेदवारी दिनेहरुले ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

‘कीर्तिपुरमा स्वतन्त्रबाट ११ जना उम्मेदवार हुँदा धेरै उम्मेदवार छन्, सबैले थोरै–थोरै भोट मात्र काट्ने हुन् भनेर मुख्य दलहरुले स्याल हुइँया फैलाउने ठाउँ पाए’, तण्डुकारले थपे, ‘त्यसका कारण आम मतदातामा जुन किमिसको ह्वीम आउनुपर्थ्यो, त्यो आउन सकेन ।’

राजमान मानव – Online Khabar

स्थानीय निकायमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुपर्छ भन्दै अभियान चलाइरहेका सनत महत कीर्तिपुरको नतिजा स्वतन्त्र उम्मेदवारहरुका लागि एउटा पाठ भएको बताउँछन् । ‘कस्तो विडम्बना भयो भने मतदाताहरुले दलहरुको विकल्पमा स्वतन्त्रलाई उभ्याउन चाहे, तर धेरै स्वतन्त्र हुँदा मत बाँडियो’, उनी भन्छन्, ‘यस्तोमा अबको चुनावमा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुअगावै एकखालको होमवर्क गर्नुपर्ने रहेछ भन्ने स्पष्ट भयो ।’

कीर्तिपुरको चुनावअघि त्यो प्रयास भएपनि पर्याप्त नभएको उनले बताए । महतले थपे, ‘स्वतन्त्रहरुको समीक्षा बैठकमा यसबारे पुग्दो छलफल गर्नेछौं ताकि आगामी दिनमा यस्ता गल्ती नहोस् ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?