२२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पार्यो । पहिलो जित हात पार्ने क्रममा लुम्बिनीलाई १० विकेटले हराएको पोखराले केही संख्यामा कीर्तिमान नै बनायो ।
पोखराले एनपीएलमा पहिलोपटक १० विकेटको जित निकाल्ने टिम बन्दा पावरप्लेमा सर्वाधिक रन, सुरूवाती विकेटका लागि सर्वाधिक रनको साझेदारी, कुनै पनि विकेटका लागि सर्वाधिक साझेदारी र सर्वाधिक व्यक्तिगत स्कोर तथा शतक बनाउने पहिलो खेलाडीका रूपमा पोखराले कीर्तिमान बनायो ।
पोखराको यो शानदार जितमा नायकको भूमिका खेले अमेरिकी ब्याटर आन्द्रियस गौसले । उनले ५५ बलमा १०४ रन बनाउँदै पोखरालाई तीन ओभरअघि नै जितको शिखरमा पुर्याए । उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए ।
खेलको सुरूवातदेखि नै आक्रमक देखिएका गौसले मैदानको सबैतिर शट खेलिरहेका थिए । पावरप्लेमै ८० रन बनाएर पोखराले खेल जित्ने छाँट ल्याइसकेको थियो । लुम्बिनी लायन्सले कुनैपनि विकेट निकाल्न सकेन। गौससँग ओपनिङमा आएका अनक्याप्ड खेलाडी दिनेश खरेलले पनि अर्धशतक बनाए ।
दाँया हाते-बाँया हाते ब्याटरको कम्बिनेशनका साथ ओपनिङमा उत्रिएका पोखराका दुई ओपनरहरूले निरन्तर रूपमा ठुला शटहरू खेल्दै जितको आधार तय गरेका थिए । दुई हारपछि आएको यो जितलाई अझै विशेष बनाउने काम गौसको शतकले गर्यो ।

पोखरा पहिलो खेलमा ४ ओभरमा ७-६ को अवस्थामा संघर्ष गर्दै ७४ रनमा अलआउट भएको बेला गौस यूएईमा टी-१० लिग खेल्दै थिए । उक्त खेलको बारेमा आज कुरा गर्दै उनले भने, ‘७ रनमा ६ विकेट गुमाउनु दुर्लभ हो, त्यस्तो भएको धेरै देखिइराख्ने दृश्य होइन अनि कुनै पनि टिम त्यो अवस्थामा पक्कै चाहन्न।’
पोखराको बिहीबार भएको दोस्रो खेल खेल्न भने आइपुगेका उनले उक्त खेलमा १६ बलमा २० रन बनाए । पोखराले खेल भने जित्न सकेन ।
त्यसपछि शुक्रबार लुम्बिनीसँगको खेलमा टस हारेर पहिले बलिङ गर्दा पोखराले १७१ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यलाई निकै सहज रूपमा लिएर गौसले दिनेशसँग मिलेर खेल जिताए ।
गौसको शतकले पोखरा एभेन्जर्स टिमकै मनोबल बढाएको छ । सुरूवाती दुई खेलमा हार व्यहोरे पनि पोखरा अब यो नतिजापछि उच्च मनोबलका साथ बाँकी खेलमा पनि राम्रो गर्ने लक्ष्य राख्ने छ । ‘खेलमा कसरी कमब्याक गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । यो जितपछि हाम्रो मनोबल पनि बढेको छ र मोमेन्टम पनि हाम्रो साथमा छ’, गौसले अगाडि भने ।
दक्षिण अफ्रिकामा जन्मिएका गौसले दक्षिण अफ्रिकी यू-१९ टिमबाट खेलिसकेका छन् । उनले सन् २०१३ मा इंग्ल्याण्डको यू-१९ टिमविरुद्ध भएको टेस्टमा २ खेलमा ९९ रन बनाएका थिए । त्यसैगरी यू-१९ एकदिवसीयमा उनले २ खेलमा ४४ रन मात्र बनाएका थिए ।
दाँयाहाते विकेटकिपर ब्याटर गौस हाल भने अमेरिकी सिनियर टोलीबाट खेल्छन् । उनले टिमलाई विस्फोटक ओपनिङ दिलाउन सक्छन् जुन कुरा धेरैपटक प्रमाणित गरिसकेका छन् । उनले यसै वर्ष अमेरिकामा भएको टी२० विश्वकप २०२४ मा ६ खेलमा २१९ रन बनाएका थिए जसमा दक्षिण अफ्रिकासँगको ८० रनको सर्वाधिक स्कोर पनि समावेश थियो ।
उनले क्यानडा, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध राम्रै रन बनाएका थिए । क्यानडाविरुद्ध ६५ रन बनाएका उनले पाकिस्तानविरुद्ध ३५ रन बनाए । उक्त खेल सुपर ओभरमा अमेरिकाले जितेको पनि थियो ।

त्यसैगरी आफ्नो जन्मथलो दक्षिण अफ्रिकासँगको सुपर ८ खेलमा उनले ५ चौका र ५ छक्का मद्दतले अविजित ८० रन बनाएका थिए यद्यपी अमेरिकाले उक्त खेल १८ रनले हारेको थियो ।
गौसले टी२०आईमा २३ खेल खेल्दा ६ अर्धशतकसहित ६९२ रन बनाएका छन् । ३२ को औसत रहेका उनले १४५ भन्दा माथिको स्ट्राइक रेटमा खेल्ने गर्छन् ।
सबैखाले टी२० मा उनले ८० खेल खेल्दा एक शतकसहित १९६१ रन बनाएका छन् । उनले अमेरिकी मेजर लिग क्रिकेटका साथै इन्टरनेशनल लिग टी२० पनि खेलेका छन् ।
नेपालमा एनपीएल खेल्न आउनुअघि उनी टी१० लिगमा मोरिसभेल साम्प आर्मीबाट खेलेर आएका छन् जहाँ उनले १० खेलमा २२४ रन बनाए । उनको स्ट्राइक रेट १८४ को थियो । सर्वाधिक रन बनाउनेको सूचीमा उनी छैटौं नम्बरमा थिए ।
उनले शुक्रबारको खेलपछि पनि आफू टी१० लिगबाट भर्खरै खेलेर फर्किएकाले शटहरू खेल्न सजिलो भएको समेत बताएका थिए ।
पोखराले अब आफ्नो चौथो खेलमा मंगलबार कर्णाली याक्ससँग खेल्ने छ ।
लुम्बिनीको के मिलिरहेको छैन ?
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । सुरूवातमै दुई विकेट गुमाएपनि कप्तान रोहित र टम मूर्स मिलेर इनिङ उकासेका थिए ।
कुनै समय २०० पुर्याउने आशा देखाएको लुम्बिनीले यसपटक पनि सोचेअनुरूप फिनिसिङ गर्न सकेन । कप्तान रोहितले ९५ तथा मूर्सले ४५ रन बनाए ।
जवाफमा लुम्बिनीले डिफेन्ड त परैको कुरा एक विकेट पनि निकाल्न सकेन । खेलपछि लुम्बिनीका कप्तान रोहित पौडेलले १७० रन डिफेन्ड गर्न सकिन्छ जस्तो लागेको तर नभएको बताए । ‘डिफेन्ड गर्न सकिन्छ भन्ने लागेको थियो । पोखराका ब्याटरहरूले पनि राम्रो खेले, बलिङ युनिटमा हामीले आज पनि राम्रो गर्न सकेनौं । अब लगातार खेल छ दबाब नलिइकन कमब्याक गर्ने लक्ष्य छ’, रोहितले भने ।
लुम्बिनीले टप अर्डर ब्याटर अर्जुन कुमाल र अलराउण्डर बेन कटिङलाई हटाएर बलिङ अलराउण्डर दिनेश अधिकारी र उन्मुक्त चन्दलाई खेलाएको थियो । दुवैले आ-आफ्नो रोलमा योगदान दिन सकेनन् । चन्द शून्यमै आउट भएका थिए ।
कागजमा हेर्दा बलियो ब्याटिङ लाइनअप रहेको लुम्बिनीको बलिङमा केही कमी देखिएको थियो । त्यो कुरा हालसम्मको दुई खेलमा मैदानमा पनि छर्लङ्ग देखिएको छ ।
अब लगातार खेल खेल्न लागेको लुम्बिनीले प्लेअफको सम्भावना कायमै राख्न ब्याटिङमा अझै निखारिएको फिनिसिङ र बलिङमा निकै ध्यान दिनुपर्ने देखिन्छ । पोखराले शनिबार विहान तेस्रो खेलमा सुदूरपश्चिमसँग खेल्ने छ ।
 
                    










 २०८१ मंसिर  २२ गते ५:३५
                        २०८१ मंसिर  २२ गते ५:३५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4