२६ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली खासै बोलेनन् । उपचुनावको संक्षिप्त समीक्षा सुने । अरु एजेन्डामा प्रवेश गरेनन्, बरु चार दिने पछिल्लो चीन भ्रमणले दिएको उपलब्धिबारे ब्रिफिङ चल्यो ।
प्रधानमन्त्री ओलीले अघिल्लो साताको चीन भ्रमण विशिष्ट रूपमा सफल भएको, चीनका पहिलो वरीयताका नेता रहेका कम्युनिस्ट पार्टी महासचिव तथा राष्ट्रपति सी जिनपिङ, दोस्रो वरीयतामा रहेका प्रधानमन्त्री ली छियाङ, तेस्रो वरीयताका नेता झु लेजी गरी तीनै उच्च नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेको संक्षिप्तमा कोट्याए ।
त्यसपछि ओलीले भ्रमण ब्रिफिङ गर्न पार्टी उपमहासचिव तथा मुख्य सल्लाहकार विष्णु रिमाललाई आग्रह गरे ।
रिमालले करिब ४० मिनेट बोल्दै चीन भ्रमणका क्रममा भएगरेका सहमति सम्झौता, तिनको अन्तर्य प्रकाश पारे । उनले बीआरआई फ्रेमवर्क सम्झौता सम्पन्न गर्न उत्पन्न भएका चुनौती चिर्दै पाएको सफलताको जस नेपाली भ्रमण मण्डललाई दिए । ओली भ्रमण मण्डलको सुरुवातमा बाहिर चर्चा गरिएजस्तो नकारात्मक माहोल नरहेको प्रष्टीकरण दिए ।
अघिल्लो आइतबार नेपालबाट बीआरआई फ्रेमवर्क दस्तावेजको मस्यौदा पठाइए पनि चीनमा सरकारी बिदा परेकाले हेर्न ढिलाइ भएको, त्यसै कारण संयुक्त वक्तव्य आइसक्दा पनि निर्णायक सहमति हुन नसकेको प्राविधिक कारण रिमालले बैठकमा सुनाए ।
त्यसै क्रममा रिमालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एक्लाएक्लै अनि समूहगत वार्ताक्रममा भएका कुराहरू ब्रिफिङ गरे ।
‘राष्ट्रपति सीले हाम्रो प्रधानमन्त्री तथा अध्यक्षलाई ‘लाउ फङ यो’ भनेर सम्मान दिनुभयो,’ रिमालले शब्दार्थ केलाउँदै भने, ‘चिनियाँ भाषामा लाउ फङ यो भन्नुको अर्थ हो, अप्ठेरो समयमा साथ दिएका विश्वासिला मित्र ।’
रिमालले एमाले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘पार्टी अध्यक्षलाई राष्ट्रपतिले जुन शब्दमा बोलाउनुभयो, त्यो विरलै अरू नेताहरूका लागि प्रयोग हुने शब्द हो । वास्तवमा त्यो प्रधानमन्त्रीज्यू र नेपाली जनतालाई दिएको सम्मान हो ।’
चिनियाँ राष्ट्रपतिले कुन अप्ठेरो समयमा साथ दिएका विश्वासिला साथी भनेर शब्द प्रयोग गरे भन्नेमा बैठकमा प्रसंग खुलाइएन । तर सीले ओलीलाई बोलाउँदा प्रयोग गरेको चिनियाँ शब्द लाउ फङ योले मंगलबारको एमाले बैठकमा विशेष महत्व पायो ।
ओलीले पनि भ्रमण वार्ता क्रममा सीलाई चीनको मात्रै नभई विश्वकै एक उच्च नेता भनी प्रशंसा गरेका थिए ।
प्रधानमन्त्री ओलीले बीआरआई फ्रेमवर्क सम्झौतामा सत्तासाझेदार कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरू पूर्णबहादुर खड्का र गगन थापाले खेलेको समन्वयकारी भूमिकाको एमाले बैठकमा प्रशंसा पनि गरेका छन् । यसको कार्यान्वयन चरणमा जान अप्ठेरो नरहेको भन्दै ओलीले सन्तोष व्यक्त गरेको एमाले नेताहरूले सुनाए ।
प्रतिक्रिया 4