काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १ हजार ५०० वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने पक्का भएको छ ।
दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ती शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।
बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् ।
लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ चौका, जनकपुर बोल्टका लाहिरू मिलन्थाले २२ चौका र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौका प्रहार गरेका छन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काका अनुसार एनसेल फाउन्डेसनले एनपीएलका खेल सकिएपछि क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाको समन्वयमा शैक्षिक सामग्री वितरण गर्नेछ ।
प्रतिक्रिया 4