काठमाडौं । ‘माग्ने बूढा’को रुपमा लोकप्रिय अभिनेता केदार घिमिरेले आफूले एउटा फिल्मबाट ५० लाख रुपैयाँभन्दा धेरै पारिश्रमिक लिने गरेको बताएका छन् । ‘मैले कंगारुपछि साइन गरेका सबै फिल्मबाट ५० लाखभन्दा माथि पारिश्रमिक लिने सहमति गरेको छु’ उनले अनलाइनखबरसँग भने ।
यद्यपि, यकिन रकम भने खुलाउन सुरक्षात्मक हिसाबले उचित नहुने उनले बताए । ‘यो पारिश्रमिक पनि मैले आफैं मागेको होइन । निर्माता आफैंले दिनुपर्ने परिस्थिति बनिरहेको छ’ उनले भने, ‘उहाँहरूले स्वतस्फूर्तरुपमा पारिश्रमिक दिनुभएको छ ।’
केदारले भनेको कुरा सही हो भने उनी घरेलु फिल्मका सबैभन्दा महंगा अभिनेता हुन् । उनी यतिबेला सबैभन्दा माग हुने अभिनेता हुन् । आफू कार्यकारी निर्माता रहेको फिल्म ‘छक्कापञ्जा ५’ पछि उनले यतिबेला धमाधम फिल्म साइन गरिरहेका छन् । त्यसयता उनले ‘कंगारु’, ‘माग्ने राजा’, ‘माइतीघर’ साइन गरेका छन् । ‘माइतीघर’पछि भने फिल्म साइन गर्ने योजना नरहेको उनले बताए ।
‘माइतीघरपछि साइन गरेको छैन । धेरै साइन गर्दा बिग्रेला भन्ने डर हुन्छ’ उनले भने । उनले अहिले पनि सातामा एउटा फिल्मको अफर आइरहेको बताए । पार्टनरसिपमा किचलो आउने सम्भावना हुने भएकाले आफूले पारिश्रमिकमै काम गरिरहेको बताए । ‘पारिश्रमिक फिक्स नै हो’ उनले भने ।
केदारले ‘छक्कापञ्जा ५’ को समूहबाट बाहिरिएको भन्ने हल्लाको खण्डन गरे । आउने तिहारपछि ‘छक्कापञ्जा’कै समूहको एउटा फिल्म सुटिङमा जाने योजना छ । असार–साउनमा स्क्रिप्ट सक्ने योजनाअनुसार काम भइरहेको र यसबारे निर्माता दीपकराज गिरीसँग कुरा भइरहेको उनले बताए ।
‘छक्कापञ्जा’को टिमले तिहारपछि छायांकनमा जाने तयारीसहित काम गरिरहेका छौं’ उनले भने ।
प्रतिक्रिया 4