+
+

काठमाडौं-टीकापुर-काठमाडौं हवाई उडान ३० मंसिरदेखि

रासस रासस
२०८१ मंसिर २८ गते १९:१६

२८ मंसिर, काठमाडौं । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल ३० मंसिरदेखि सञ्चालनमा आउन लागेको हो ।

पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।

विमानस्थलमा ३० मंसिरमा पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी ४ पुसमा हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक/एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।

तालिकाअनुसार यती एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यती एयरलाइन्सले काठमाडौं ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौं–टीकापुरको एक तर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।

टीकापुरका नगरप्रमुख थारूले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिए । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताए ।

‘टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ,’ उनले भने ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ । काठमाडौंबाट बिहान १० बजे यती एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२:३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १:२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २:०५ बजे यती एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउनेछ ।

त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?