२८ मंसिर, काठमाडौं । नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोज काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी र क्यालिकटले इरानको जुनियर टोलीलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
लिग चरणमा उद्घाटन खेलमै हेल्प नेपाल र क्यालिकटबीच खेल भएको थियो । पाँच सेट चलेको उक्त रोमाञ्चक खेल हेल्प नेपालले ३-२ ले जितेको थियो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा हेल्प नेपालले क्लब एचडिसीलाई ३-० को सेटमा सहजै हरायो ।
लिग चरणमा दोस्रो भएको हेल्प नेपालले लिगमा चौथो भएको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ पराजित गरेको हो ।
त्यसअघि भारतको क्यालिकट हिरोजले पहिलो सेमिफाइनलमा इरानको जुनियर टोलीलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणमा चारवटै खेल जितेर अपराजित रहँदै शीर्ष स्थानमा रहेको इरानको जुनियर टोलीले क्यालिकट विरुद्ध पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने क्यालिकटले पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्न सपल भयो ।
क्यालिकटले त्यसपछि २५-२२, २५-२०, २६,२४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
अब हेल्प नेपाल र क्यालिकटबीचको फाइनल खेल शनिवार दिउँसो साढे ३ बजे सुरु हुनेछ । त्यसअघि इरान जुनियर टिम र एचडिसीबीच तेस्रो स्थानको लागि खेल हुनेछ । यो खेल १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया 4