+
+

उपराष्ट्रपति यादवसँग चीनका ‘सिपिपिसिसी’ सदस्य शुनले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १९:५७

२८ मंसिर, काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग चीनका राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ राजनीतिक परामर्शदातृ सम्मेलन’(सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यीन शुनले भेटवार्ता गरेका छन् ।

शुनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन् । उक्त भेटमा शुभकामना आदानप्रदानपश्चात् नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोगलगायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताए ।  ‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७०औँ वर्ष पूरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’, उनले भने, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ।’ उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताए ।

‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पुर्‍याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’, उनले भने, ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको छ।’

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए ।

पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकासलगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहनरूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु।’

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै शुनको नेपाल भ्रमण सफल र बसाई सुखद् रहोस् भन्ने कामना गरे ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन(सिपिपिसिसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यीन शुनले प्रत्येक चिनियाँ भिक्षुहरु लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गर्दै यो पवित्रभूमिप्रति आफूसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताए ।

‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचीकृत गरिएको छ’, उनले भने, ‘चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ।’ उनले नेपाल पवित्रभूमि विश्वका सम्पूर्ण बौद्धमार्गीको मन र हृदयमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?