+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जब आर्थिक सम्मेलनमा भारतमा सबैभन्दा चलेको मःम ब्रान्ड सोधियो

‘भारतमा सबैभन्दा राम्रो मःम ब्रान्ड के हो ?’ यो प्रश्न सोध्ने वित्तिकै भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले आफैं जवाफ पनि दिइहाले, ‘वाउ मःमः ।’ यसको भारतभरि ७०० फ्रेन्चाइज रहेको भन्दै यसका सञ्चालक नेपाली भएको पुरीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १४:०६

५ पुस, नयाँ दिल्ली । भारतमा चलिरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा शुक्रबार दिउँसो नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले स्टार्टअप भन्ने वित्तिकै सूचना प्रविधि क्षेत्रलाई मात्र सोच्ने गरिएको भन्दै असन्तुष्टि जनाए ।

त्यही सन्दर्भमा ‘स्ट्रिट फुड’को प्रसङ्‍ग निकाल्दै उनले सोधे, ‘स्ट्रिट फुडमा भारतमा सबैभन्दा बढी चलेको खानेकुरा के हो ?’ सहभागीहरूले डोसा, इड्ली, वडा पाउँ लगायत संकेत गर्न खोजे । तर, उनले रोकी हाले र मःम सबैभन्दा रुचाइने बताए ।

‘भारतमा सबैभन्दा राम्रो मःम ब्रान्ड के हो ?’ यो प्रश्न सोध्ने वित्तिकै पुरीले आफैं जवाफ पनि दिइहाले, ‘वाउ मःमः ।’ यसको भारतभरि ७०० फ्रेन्चाइज रहेको भन्दै यसका सञ्चालक नेपाली भएको पुरीले बताए ।

‘यो हो स्टार्टअप भनेको, अहिले नेपाल र नेपाली फेरिएका छन्, उनीहरूको कम्पनीले एकदमै महत्त्वपूर्ण योगदान गरेका छन्’, उनले थपे, ‘भारतमा पनि नेपालीको लगानी बढ्दो क्रममा छ ।’

दुई दिनअघि आफू नेपालमा स्टार्ट अप समिटका लागि गएको भन्दै उनले नेपालका युवाले गरिरहेको कामको प्रशंसा गरे । ‘थुप्रै नेपाली युवा भारतमा छन्, उनीहरूले राम्रो काम गरिरहेका छन्’, पुरीले भने ।

नेपाली सञ्चालक रहेको मःम बारे सुनेपछि प्यानलको अध्यक्षता गरेका भारतको १५औं वित्त आयोग अध्यक्ष एनके सिंहले पनि आफ्नो घरमा नेपाली महिला सहयोगी रहेको स्मरण गरे ।

‘स्ट्रिट फुडको कुरा गर्दा मलाई याद आयो, मेरो घरमा खाना पकाउने सहयोगी पनि नेपाली छिन्,’ सिंहले अगाडि भने, ‘उनले पकाउने खानेकुरा एकदमै विशिष्ट छ ।’

काभ्रे स्थायी घर भएका विनोद हुमागाईंले एक जना भारतीय साथीसँग मिलेर भारतमा सन् २००८ मा ‘वाउ मोमो !’ नामक स्टार्टअप विजनेश सुरु गरेको थियो । त्यसबेला ३० हजार भारतीय रुपैयाँबाट सुरु भएको व्यवसायले अहिले भारतमा अर्बमाथि कारोबार गर्न थालिसकेको छ । भारतका अधिकांश ठूला सहरहरूमा अहिले वाउ मःम को आउलेट देखिन्छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतका विनोदका बुवा कामको सिलसिलामा कोलकाता गएका थिए । पछि स्कुल र कलेज पढ्न उनी बुबासँगै कोलकाता गएका थिए ।

दिल्लीको ‘इन्डिया इन्टरनेसनल सेन्टर’मा भइरहेको सम्मेलनको क्षेत्रीय सहकार्य शीर्षकको प्यानल छलफलमा यो प्रसङ्‍ग आएको हो । यो विषयमा भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल, नेपालका लागि भारतका पूर्वराजदूत पुरी, वित्त मन्त्रालयका सल्लाहकार चञ्चल सी सरकार र काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक उद्धव प्याकुरेलले छलफल गरेका छन् ।

सम्मेलनको पहिलो सेसनमा नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बोधन गरेकी थिइन् । सम्मेलनको आयोजना काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन अफ इकोनमिक ग्रोथ एन्ड वेलफेयरले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?