६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । मंसिर १६ गतेदेखि सुरु भएको एनपीएल उपाधि जनकपुरले चुमेसँगै प्रतियोगिता सकिएको हो ।
टीयू क्रिकेट मैदानमा भएको एनपीएल फाइनल खेलमा सुदूरपश्चम रोयल्स र जनकपुर बोल्टस् भिडेका थिए । हजारौं दर्शकको चर्को हुटिङका बीच भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले इतिहास रचेको हो ।
प्रतियोगिताको उपाधि चुम्न जति खेलाडी व्यग्र प्रतीक्षामा थिए त्योभन्दा बढी उत्साहित थिए दर्शक । खेल सुरु हुनुभन्दा करिब ३ घन्टा अघिबाटै दर्शक तथा समर्थक आआफ्ना टिमको नाममा प्लेकार्डसहित मैदान प्रवेश गरिसकेका थिए ।
जनकपुर बोल्टस् एनपीएलमै अघिल्ला २ खेलमा पराजित भइसकेको थियो भने प्रतियोगिताभर सुदूरपश्चिम रोयल्स एकपटकमात्रै पराजित भएको थियो । जनकपुर आफ्नो हारको बदला लिने दाउमा हुँदा सुदूरपश्चिम आफ्नो जितलाई निरन्तर दिने लक्ष्यमा थियो ।
खेलको अन्तिम ओभरमा खेल बराबरीको स्थितिमा आउन लागेपछि केहीबेर अघिसम्म चर्को हुटिङ गरिरहेका दुवै टिमका समर्थक मौन बनेका थिए । अन्तत: अघिल्ला २ खेलमा जोसँग हार व्यहोरेको थियो त्यही टिमलाई नै हराउँदै एनपीएलको उपाधि जित्दा दर्शकदीर्घाबाट पनि चर्को हुटिङको वर्षा भएको थियो । मौन बनेको एकाएक माहोल गर्मायो ।
नेपाली क्रिकेट प्रेमीका बीचमा छुट्टै माहोल खडा गर्न सफल भएको एनपीएलमा ८ वटा फ्रेन्चाइज टिम सहभागी भएका थिए । विश्वस्तरमा आफ्नो पहिचान बनाइसकेका विदेशी खेलाडीसमेत सहभागी भएको एनपीएलले सबैको ध्यान खिच्न सफल रह्यो ।
नेपाल क्रिकेट एसोसियन (क्यान)ले आयोजना गरेको एनपीएलमा ५ टिमलाई पछि पार्दै फाइनलमा सुदूरपश्चिम र जनकपुरले स्थान पक्का गरेका थिए । विजेता जनकपुर बोल्टस्को कप्तानी अनिल शाहले गरेका थिए । तर बीचमा उनी घाइते बन्दा असिफ शेखले कप्तानीको भूमिका निभाउँदै टिमलाई उपाधि चुमाए ।
फाइनल यात्रा तय गरेको सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए । उनी एनपीएलको सर्वोत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार जिते ।
त्यस्तै, विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेलले कप्तानी निभाएका थिए भने कर्णाली याक्सको कप्तानमा सोमपाल कामीले निभाएका थिए ।
थप तस्वीरहरु :
प्रतिक्रिया 4