+
+

‘आर्थिक लाभ नै लागूऔषध तस्करीको मुख्य आकर्षण हो’ 

लागूऔषध तस्करीमा संलग्न मध्ये धेरै आर्थिक लाभ हुन्छ भनेर लाग्ने गरेको देखिन्छ । नेपालमा पक्राउ परेका भरिया हेर्दा सोर्स कन्ट्री बाहेकको स्थानको पनि रहेका छन् । उनीहरूलाई राम्रो आर्थिक फाइदा हुने आश्वासन दिएको हुन्छ ।

दिनेशकुमार आचार्य, एसएसपी, लागूऔषध नियन्त्रण ब्युरो दिनेशकुमार आचार्य, एसएसपी, लागूऔषध नियन्त्रण ब्युरो
२०८१ पुष १२ गते २०:४५

लागू पदार्थको अवस्था हेर्दा प्रहरी तीन विषयमा आधारित भएर विश्लेषण गर्दछौं । नेपाल एक लेभलको सोर्स कन्ट्री पनि हो । हाम्रोमा गाँजा र चरेस उत्पादन हुन्छ । विभिन्न स्थानमा खेती पनि हुन्छ । हाम्रोमा उपभोगका लागि ब्राउन सुगर धेरै आयात हुन्छ । ब्राउन सुगर वार्षिक १५–२० केजीसम्म पक्राउ पर्छ । अर्को मेडिसिनल ड्रग्सहरू धेरै उपभोग हुन्छ । त्यो पनि ठूलो संख्यामा समातिन्छ ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय समूहहरूले ट्रान्जिटको रूपमा पनि नेपाललाई प्रयोग गर्ने गरेको छ । त्यसैले ह्वाइट हिरोइन पक्राउ पर्छ । कोकिन पनि प्रति वर्ष १५–२० किलो पक्राउ पर्छ । कतिपय लागूऔषध नेपाल ल्याउने र भारततर्फ लैजाने गरेको पाइन्छ ।

नेपालमा उत्पादन भएको गाँजा र चरेस भारततर्फ जान्छ । हङकङ सहित केही स्थानमा कार्गोबाट लागूऔषध पठाउने गरिएको पनि भेटिन्छ । पछिल्लो अवस्थामा नेपालीले विदेशमा नै बोकेर गएका घटनाहरू भने भएको भेटिएको छैनन् । पहिले लैजान्थे होला ।

लागूऔषध तस्करीमा संलग्न मध्ये धेरै आर्थिक लाभ हुन्छ भनेर लाग्ने गरेको देखिन्छ । नेपालमा पक्राउ परेका भरिया हेर्दा सोर्स कन्ट्री बाहेकको स्थानको पनि रहेका छन् । उनीहरूलाई राम्रो आर्थिक फाइदा हुने आश्वासन दिएको देखिन्छ ।

कमजोर आर्थिक अवस्था भएका मानिसलाई लालच दिएर भरिया बनाएर लैजाने गरेको हुनसक्छ । चिनेको व्यक्ति मार्फत जान सक्ने सम्भावना मुख्य हो । कहिलेकाहीं हाम्रोमा त्यस प्रकारको भूमिका खेल्ने मानिस भेटिन्छन् पनि ।

अहिलेसम्म हाम्रो डेटाले कुनै निश्चित ठाउँको मानिसले विदेशमा गएर लागूऔषधको भरिया बनेर काम गर्छन् भनेर देखाउँदैन ।

लागूऔषधको तस्करीमा अन्तरदेशीय प्रवृत्ति पनि छन् । इन्टरपोल मार्फत सूचना साझा पनि गरिन्छ । लागूऔषध नियन्त्रणका अन्य फोरमहरू पनि छन् । त्यसमा पनि सूचना आदानप्रदान हुन्छ । विभिन्न देशहरूसँग सोझै सूचना सेयरिङ हुन्छ । त्यसमा पूर्वी एशिया र दक्षिण पूर्वी एशियाका देशहरू पनि छन् । त्यसमा पक्राउ परेका व्यक्तिहरू र लागूपदार्थ सम्बन्धी नयाँ प्रकारका ट्रेन्डहरूको बारेमा पनि जानकारी आदानप्रदान हुन्छ ।

हाम्रो कानूनमा विदेशमा अपराध भए पनि सोर्स चाहिं नेपाल हो भने नेपालमै कानूनी कारबाही गर्न सक्ने व्यवस्था छ । नेपाल सोर्स पनि नहुने तर बाहिर मनिटरी बेनिफिटका लागि जाने अन्य देशमा पक्राउ पर्ने हुनसक्छ । तर त्यो हुनसक्छ भनेर अनुमान गर्न सक्ने अवस्था हुँदैन ।

हामीले लागूऔषधको प्रयोग, ओसारपसारमा हुने दण्ड–सजायदेखि त्यसले निम्त्याउन सक्ने विभिन्न समस्याको बारेमा जनचेतना जगाउने कार्यक्रमहरू ठाउँठाउँमा सञ्चालन गर्दै आएका छौं । अहिलेसम्म हाम्रो डेटाले कुनै निश्चित ठाउँको मानिसले विदेशमा गएर लागूऔषधको भरिया बनेर काम गर्छन् भनेर देखाउँदैन ।

हाम्रो धेरै ध्यान भनेको सामुदायिक स्तरमा त्यसमा पनि स्कुल तथा कलेजका विद्यार्थीलाई लक्षित छ । लागूऔषधको दुर्व्यसन र त्यसको परिणामको बारेमा जानकारी गराउने गरेका छौं । विदेश मात्रै नभएर नेपालमा पनि लागूऔषध ओसारपसारमा कानून निकै कडा छ । भारतमा भन्दा नेपालमा धेरै कडा कानून छ ।

कुनै कुनै देशमा मृत्युदण्डसम्मको व्यवस्था छ । मृत्युदण्डको व्यवस्था नभएको नेपालमा २५ वर्षसम्म सजाय हुने भनेको अरूभन्दा बढी नै हो । कानूनी रूपमा लागूऔषधलाई नेपालले गम्भीर रूपमा लिएको छ ।

विभिन्न कारणले गर्दा नेपाल मात्रै नभएर विदेशमा पनि लागूऔषधका प्रयोगकर्ताहरू बढ्दै गएको देखिन्छ । लागूऔषध तस्करी संगठित अपराध भएकाले फरक–फरक प्रकारका नेटवर्किङहरू प्रयोग गरेर अपराध हुने गरेका छन् । त्यसैले कानून कार्यान्वयनका लागि त्यसै अनुसार युनिटहरूले काम गर्दछन् ।

नेपाल प्रहरीले माग र आपूर्ति दुवैको नियन्त्रण विधि अपनाएर काम गर्ने गरेको छ । माग नियन्त्रणका लागि जनचेतना सञ्चालन गरेर त्यसको प्रयोगकर्ता नै कम गर्ने र दुर्व्यसनीको उपचार र पुनर्स्थापनाका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । आपूर्ति नियन्त्रणका लागि आन्तरिक रूपमा उत्पादन हुन नदिने र विदेशबाट ल्याउन पनि नदिने रणनीति हाम्रो हो । त्यसमा ओसारपसारमा संलग्नको पक्राउ गर्ने र कानूनी कारबाही गर्ने काम पनि पर्छ ।

(नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी आचार्यसँग मणि दाहालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?