१४ पुस, काठमाडौं । भारतविरुद्धको चौथो टेष्टमा अष्ट्रेलिया मजबुत अवस्थामा देखिएको छ । चौथो दिनको खेल सकिँदासम्ममा अष्ट्रेलियाले दोस्रो इनिङ्समा नौ विकेटको क्षतिमा २२८ रन बनाउँदै ३३३ रनले लिड गरेको छ ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत चौथो टेष्टको पाँचौँ दिनको खेल सुरु हुँदा भोलि अष्ट्रेलियाका नाथन लियोन र स्कट बोल्यान्ड क्रिजमा हुनेछन् । लियोनले ५४ बलमा ४१ रन बनाइसकेका छन् । यी दुईबीच ५५ रनको साझेदारी बनिसकेको छ ।
त्यसअघि नौ विकेटको क्षतिमा तीन सय ५८ रनको अवस्थाबाट खेलअघि बढाएको भारत ११ रन जोड्दै अलआउट हुन पुगेको थियो । अघिल्लो दिन शतक प्रहार गरेका नीतिशकुमार रेड्डी एक सय १४ रनमा आउट भएसँगै भारतीय इनिङ समेटिएको थियो ।
भारतलाई समेट्ने क्रममा कप्तान प्याट कमिन्स, स्कट बोल्यान्ड र नाथन लियोनले समान तीन–तीन विकेट लिए ।
प्रतिउत्तरमा दोस्रो इनिङको ब्याटिङ थालेको अष्ट्रेलियाले मार्नस लाबुसचेनले ७० तथा कप्तान प्याट कमिन्सको ४१ रनको मद्यतले यो स्कोर खडा गरेको हो । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । अष्ट्रेलियाको दोस्रो इनिङमा भारतीय बलर जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले तीन विकेट लिए । त्यसअघि पहिलो इनिङमा पनि बुमराहले चार विकेट लिएका थिए ।
मेलवर्नमा जारी चौथो टेष्टको पहिलो इनिङमा अष्ट्रेलियाले चार सय ७४ रन बनाएको थियो ।
प्रतिक्रिया 4