+
+

दक्षिण कोरियामा विमान दुर्घटना : अवतरणअघि चरा ठोक्किएको आशंका

अधिकारीहरूले भने चराहरूसंगको ठक्कर र खराब मौसमका कारण दुर्घटना भएकोे हुन सक्ने बताएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते २२:४९

१४ पुुस, काठमाडौं । दक्षिण कोरियामा एक सय ७९ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको कारण चराहरूसँगको ठक्कर हुन सक्ने बताइएको छ ।

थाइल्यान्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा रहेका चालक दलका ६ सदस्यसहित १८१ यात्रुमध्ये दुईजनाको मात्र जीवितै उद्धार हुन सकेको थियो । दुर्घटनाको केहीपछि उद्धारकर्ताहरूले विमानको भग्नावशेषबाट चालकदलका एक महिला सदस्य तथा अर्का एक पुरुष यात्रुको जीवितै उद्धार गरेका थिए ।

जेजु एयरको विमान देशको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालसँग ठोक्किएर धावनमार्गबाट बाहिरिएको थियो ।

अधिकारीहरूले दुर्घटनाको कारण अनुसन्धान गरिरहेका छन् । अग्नि अधिकारीहरूले भने चराहरूसंगको ठक्कर तथा खराब मौसमका कारण दुर्घटना भएकोे हुन सक्ने बताए । यद्यपि विज्ञहरूले दुर्घटना हुनुमा अन्य धेरै पनि हुन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक दक्षिण कोरियाली यातायात अधिकारीलाई उद्धृत गर्दै विमान अवतरण गर्न कोशिस गरिरहेका बेला एयर ट्राफिक कन्ट्रोलले चरासँगको ठक्कर (बर्ड स्ट्राइक)को चेतावनी दिएपछि रोक्न बाध्य भएको बताएको उल्लेख गरेका छन् ।

करिब दुई मिनेटपछि एयर ट्राफिक कमान्डले विमानलाई विपरीत दिशाबाट अवतरण गर्न अनुमति दिएको समाचारमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमहरूले उडानमा रहेका एक यात्रुले आफन्तलाई सन्देश पठाएर एउटा चरा विमानको पखेटामा अड्किएकोले विमान अवतरण हुन नसक्ने बताएको पनि उल्लेख गरेका छन् ।

दुर्घटनाअघि अवतरणको क्रममा विमानले आफ्नो पांग्रा वा अन्य कुनै ल्यान्डिङ गियर प्रयोग नगरी तल छुँदै गरेको भिडियो देखिन्छ । त्यसरी अवतरणको प्रयासमा रहेको विमान रनवेमा चिप्लिँदै अगाडि रहेको र पर्खालमा ठोक्किएर ठूलो आवाजसहित विस्फोट भएको भिडियोमा देखिन्छ ।

मुआन फायर डिपार्टमेन्टका प्रमुख ली जेओङ ह्युनले टेलिभिजन ब्रिफिङमा चरासँग ठोक्किएको र खराब मौसमको कारणले दुर्घटना भएको हुन सक्ने बताएका छन् । उनले वास्तविक कारण अझै अनुसन्धान भइरहेको पनि जनाएका छन् । विमानको फ्लाइट र भ्वाइस रेकर्डर बरामद भइसकेको छ ।

‘हामी आज रिपोर्ट गर्दैछौं कि चरा स्ट्राइकले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्छ,’ लीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?