+
+

शिक्षा समितिमा बहस- गोविन्द केसीका कारण चिकित्सा शिक्षा बिग्रियो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १६:४०

१९ पुस, काठमडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल थियो । तर समितिमा डा. गोविन्द केसीको अनशनको विषय पनि प्रवेश गर्‍यो ।

समिति सभापति अम्बरबहादुर थापा र एमालेका सांसद प्रभु हजराले डा. केसीको अनशनका कारण चिकित्सा शिक्षा बिग्रिएको तर्क गरे ।

‘गोविन्द केसीले धर्ना दिएर मेडिकल र नर्सिङ कलेज ध्वस्त भयो । उहाँ स्वतन्त्र डाक्टर हो कि सोचेको थिएँ । तर सरकारको कर्मचारीले धर्ना, तालाबन्दी गर्ने ? विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले व्यवस्थापन गर्न नसकेको वा कर्मचारी अराजक भएको हो ?,’ समिति सभापति अम्बरबहादुर थापाले प्रश्न गरे ।

समिति बैठकमा सांसद हजराले डा. केसीका कारण नेपालको चिकित्सा शिक्षा पछाडि धकेलिएको टिप्पणी गरे । ‘गोविन्द केसीका कारण नेपाललाई अधोगतिमा लैजाने काम भयो,’ उनले भने । डा. केसीका लामो अनशनका कारण चिकित्सा शिक्षा ऐन बनेको थियो ।

सरकारको कर्मचारी भएर आन्दोलन, तालाबन्दी र धर्ना दिन नहुने तर्क सभापति थापाको छ । ‘प्राध्यापकले जागिर पनि खाने तालाबन्दी पनि गर्ने ? प्राध्यापकले अनुसन्धान गर्ने हो । धर्ना, तालाबन्दी गैरजिम्मेवार काम हो । दण्डको व्यवस्था गर्ने कि नगर्ने ?,’ सभापति थापाले प्रश्न गरे ।

विश्वविद्यालयमा विद्यार्थीले पनि तालाबन्दी गर्न नहुने सभापति थापाले बताए ।

‘विश्वविद्यालयमा तालाबन्दी छ । त्रिविमा ताला लगाइएको छ । विद्यार्थी स्वतन्त्र हो । विद्यार्थीले नेतृत्वको विकास गर्ने होला । तर विद्यार्थीले पढ्ने हो राजनीति गर्ने होइन । राजनीति बाहिर गरियोस्,’ सभापति थापाले भने ।

विश्वविद्यालयमा उपकुलपति, रेक्टर रजिस्ट्रार लगायतका व्यक्ति खल्तिबाट नियुक्ति गर्न नहुने उनले बताए । ‘विश्वविद्यालयमा दलीयकरण छ । खल्तिबाट फ्याट्टफ्याट्ट दिन रोक्नुपर्छ । योग्यताको आधारमा प्रतिस्पर्धाबाट हुनुपर्छ । भागबन्डामा होइन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?