+
+

राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडासँग हृदयराम थानीको नोकझोक

राज्य व्यवस्था समिति बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १५:१४

२२ पुस, काठमाडौं । राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो ।

त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस्।’

बैठकमा थानीले विभिन्न ठूला काण्डका उजुरीमाथि छानबिन गरेर राज्यव्यवस्था समितिले आँट गरेको भन्दै आफ्ना भनाइ सुरु गरेका थिए । तर ती उजुरीमाथि छलफल गर्न अरु विधेयकहरु अलपत्र परेको गुनासो पनि उनले गरे ।

‘अख्तियारको उजुरी पनि यहीँ, विद्युत् प्राधिकरणको उजुरी पनि यहीँ, गृहको उजुरी पनि यहीँ, सारा संसारभरीको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले ?’ प्रश्न गर्दै थानीले भने, ‘विधेयक अड्किएर बसिरहेका छन् यहाँ । अँस्ती न्यायपरिषदको विधेयक पास गर्यौं, संसदमा गएर सुतेर बसेको छ । भ्रष्टाचारको पास गर्यौं त्यो पनि जाँदै होला । अख्तियारको यहीँ, म त आईसीयूमा भन्ने गरेको छु, राज्य व्यवस्थामा यहीँ आईसीयूमा सुतिराख्या छ । अरु विधेयकहरु यहीँ छरिएर बसिराख्या छन् ।’

थानीले बोल्दा समिति सभापति रामहरि खतिवडाले ‘धेरै भएको छैन, समितिले लान्छ’ भने ।

त्यसपछि थानी झर्किए । ‘सभापति जी कति बोल्नु हुन्छ ? म पनि सभापति भएर बस्या मान्छे । तपाईं नै बोल्नुस् त्यसोभए । ल तपाईं बोलिरहनुस्, म बोल्दिनँ ।’

रामहरिले उनलाई रोक्न खोजे । तर थानी रोकिएनन् । उनले थपे, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस् । कुरा काट्नु भाछ, कुरा काट्नुभाछ…।’

रामहरिले फेरि भने, ‘हैन समितिमा लगिसकेको छ…।’

थानी झन् चर्किए, ‘तपाईंलाई अधिकार छ ? सबै अधिकार तपाईंलाई छ ? जे पायो त्यही बोल्ने, कुरा काट्ने छ ?’

रामहरि भन्छन्– काटेको होइन । आईसीयूमा छ भन्नु हुन्छ । लाने हो, सहमतिमै लाने हो ।

तर थामीले अब नबोल्ने अडान राख्छन्, ‘म बोल्दिनँ भनेपछि अब बोल्दिनँ । भैगो बोल्नुस्, तपाईं । जति बोल्नुहुन्छ, बोल्नुस् । तपाईं नै हुनुहुन्छ सभापति । तपाईंले सबै जान्नुभाछ, तपाईं नै बोल्नुस्, म बोल्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?