२४ पुस, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच दोस्रो दिनको खेल बिहिबार जारी छ ।
पहिलो इनिङमा आर्मीको बलियो योगफल पछ्याउने क्रममा बागमतीले २२ ओभरमा ५ विकेट गुमाएर १२२ रनको अवस्थाबाट खेल सुरू गर्दै थप ७८ रन जोड्दा ४ विकेट गुमाएपछि इनिङ घोषणा गर्यो ।
बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाउँदै इनिङको घोषणा गरेको थियो । बागमती अझै ७६ रनले पछाडि नै थियो । नन्दन यादवले सर्वाधिक ५१ रन बनाए । शुभ कंसाकारले ३४ र उत्तम थापामगरले २८ रन बनाएर आउट भए ।
ओपनर रित गौतमले २२ तथा आशुतोष घिरैयाले ११ रन बनाउँदा इशान पाण्डे ४ रनमा आउट भए । आर्मीका आकाश चन्दले ३ विकेट लिँदा तथा सोमपाल कामी,साहब आलम र पवन कार्कीले २-२ विकेट लिए ।
७६ रनको अग्रतासहित आर्मीले दोस्रो इनिङ सुरू गरिसकेको छ । लन्च ब्रेकसम्म ६ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा आर्मीले २८ रन बनाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो पहिलो इनिङमा बलियो योगफल खडा गरेको थियो । आर्मीले ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनायो ।
आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ७२ रन बनाए भने बसिर अहमद ५३ रनमा अविजित रहे । कुशल मल्ल पनि ३५ रनमा अविजित रहे भने तृतराज दास ४४ र भीम सार्की ३२ रनमा आउट भए ।
बागमतीका विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २२ ओभरमा १०३ रन खर्चेर २ विकेट हात पारे ।
पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4