२४ पुस, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच दोस्रो दिनको खेल बिहिबार जारी छ ।
७६ रनको अग्रतासहित दोस्रो इनिङ सुरू गरेको आर्मीले दोस्रो दिनको टी ब्रेकसम्म २०३ रनको अग्रता बनाउँदै बागमतीलाई २०४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । बागमतीले अन्तिम सेसनमा लक्ष्य पूरा गर्नुपर्नेछ ।
आर्मीले दोस्रो इनिङमा ८ विकेट गुमाएर १२७ रन बनाउँदै इनिङ घोषणा गर्यो । आर्मीका लागि दोस्रो इनिङमा तृत राज दासले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारीले २७ रन बनाए । बागमतीका नन्दन यादवले ४, प्रतिश जीसीले ३ तथा रिजन ढकालले १ विकेट लिए ।
पहिलो इनिङमा आर्मीको बलियो योगफल पछ्याउने क्रममा बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाउँदै इनिङको घोषणा गरेको थियो । बागमती अझै ७६ रनले पछाडि नै थियो । नन्दन यादवले सर्वाधिक ५१ रन बनाए । शुभ कंसाकारले ३४ र उत्तम थापामगरले २८ रन बनाएर आउट भए ।
ओपनर रित गौतमले २२ तथा आशुतोष घिरैयाले ११ रन बनाउँदा इशान पाण्डे ४ रनमा आउट भए । आर्मीका आकाश चन्दले ३ विकेट लिँदा तथा सोमपाल कामी,साहब आलम र पवन कार्कीले २-२ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो पहिलो इनिङमा पनि बलियो योगफल खडा गरेको थियो । आर्मीले ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनाएको थियो ।
आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ७२ रन बनाएका थिए भने बसिर अहमद ५३ रनमा अविजित रहे । कुशल मल्ल पनि ३५ रनमा अविजित रहे भने तृतराज दास ४४ र भीम सार्की ३२ रनमा आउट भए ।
बागमतीका विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २२ ओभरमा १०३ रन खर्चेर २ विकेट हात पारे ।
पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4