+

जय ट्रफीमा आर्मी र बागमतीले खेले ‘ड्र’

२०८१ पुष  २५ गते १७:२५ २०८१ पुष २५ गते १७:२५
जय ट्रफीमा आर्मी र बागमतीले खेले ‘ड्र’

२५ पुस, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले ड्र खेलेका छन् । आर्मीले दिएको लक्ष्य बागमतीले पूरा गर्न सकेन भने आर्मीले बागमतीलाई पनि अलआउट गर्न सकेन ।

आर्मीले दिएको २०४ रनको लक्ष्य पछ्याएको बागमतीले अन्तिम सेसनमा ५ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । बागमतीका शुभ कंसाकारले सर्वाधिक ३३ रन बनाए । आर्मीका आकाश चन्द र पवन कार्कीले २-२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो पहिलो इनिङमा पनि बलियो योगफल खडा गरेको थियो । आर्मीले ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनाएको थियो ।

आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ७२ रन बनाएका थिए भने बसिर अहमद ५३ रनमा अविजित रहे । कुशल मल्ल पनि ३५ रनमा अविजित रहे भने तृतराज दास ४४ र भीम सार्की ३२ रनमा आउट भए ।

बागमतीका विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २२ ओभरमा १०३ रन खर्चेर २ विकेट हात पारेका थिए ।

पहिलो इनिङमा आर्मीको बलियो योगफल पछ्याउने क्रममा बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाउँदै इनिङको घोषणा गरेको थियो । बागमती अझै ७६ रनले पछाडि नै थियो । नन्दन यादवले सर्वाधिक ५१ रन बनाएका थिए । शुभ कंसाकारले ३४ र उत्तम थापामगरले २८ रन बनाएर आउट भए ।

आर्मीले दोस्रो इनिङमा ८ विकेट गुमाएर १२७ रन बनाउँदै इनिङ घोषणा गरेको थियो । आर्मीका लागि दोस्रो इनिङमा तृत राज दासले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारीले २७ रन बनाए । बागमतीका नन्दन यादवले ४, प्रतिश जीसीले ३ तथा रिजन ढकालले १ विकेट लिए ।

दुवै टोलीले आफ्ना पहिलो खेलमा पनि ड्र खेलेका थिए । पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय