+
+

प्रधानमन्त्रीको बोलीले गठबन्धनमा समस्या हुँदैन : लेखराज भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १८:४५

२८ पुस, धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले प्रधानमन्त्रीले पार्टीको बैठकमा बोलेका कुराले गठबन्धनमा तलमाथि नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा गर्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले कुनै समस्या नहुने बताएका हुन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गरेका निर्णय सार्वजनिक गर्न पार्टीको प्रचार तथा प्रकाशन विभागले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको उल्लेख गरे ।

‘हाम्रो पार्टीको केन्द्रीय समितिमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो,’ उनले भने ।

अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रुपमा संविधान संशोधन गर्न सकिने कुरा अध्यक्षको रहेको उनी बताउँछन् ।

‘अहिलेदेखिनै सविधानका कुन–कुन दफा संशोधन गर्ने हो ? छलफल गर्र्दै जानुपर्छ,’ भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूर्ण रुपमा संशोधन हुनसक्छ ।’

पार्टीको आन्तरिक बैठकमा विभिन्न विषयमा विभिन्न कोणबाट छलफल हुने भएकाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा असर नपर्ने उनको भनाई थियो । ‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् । त्यसले दुई दलबीच भएको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘यसले समीकरणमा पनि तलमाथि हुँदैन । नेपाली कांग्रेसमा पनि विभिन्न कोणबाट आउने कुरा स्वभाविक नै हो । उहाँहरू कांग्रेस खुल्ला रुपमा लोकतान्त्रिक अभ्यास गर्ने पार्टी पनि हो भन्नुहुन्छ ।’

फरक प्रसंगमा बोल्दै सचिव भट्टले पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई परास्त गर्दै एकढिक्का हुनुपर्ने कुरामा कुनै दुई मत नभएको बताए । पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समेत स्पष्ट रुपमा उक्त कुरा उल्लेख गरिएको बताउँदै उनले दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गर्दै एकताबद्ध पार्नुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?