४ माघ, डोटी । नेकपा एमालेले सुदूरपश्चिमका सबै १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।
एमाले सचिवालयको निर्णय अनुसार पार्टी उपमहासचिव लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट चुनाव लड्ने भएका छन् । १० वर्षे सशस्त्र विद्रोहमा भूमिगत राजनीतिमा संलग्न भट्टले ०६४ सालदेखि सोही क्षेत्र (साविक कैलाली–५) मा प्रतिस्पर्धा गर्दै आएका छन् ।
०६४ को निर्वाचनमा पहिलो पटक तत्कालीन नेकपा माओवादीबाट चुनावी प्रतिस्पर्धामा आएका भट्टले नेपाली कांग्रेसका उम्मेदवार दिर्घराज भाटलाई पराजित गर्दै आफ्नो संसदीय यात्रा तय गरेका थिए । भट्टले १७ हजार ९७९ मत पाउँदा प्रमुख प्रतिस्पर्धी भाटले १३ हजार ६३८ मै चित्त बुझाउनु परेको थियो ।
०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा परिणाम उल्टो भयो । तिनै दिर्घराजले भारी मत अन्तरले भट्टलाई पराजित गरे । दिर्घराजले १६ हजार ३४६ मत पाउँदा भट्टले ९ हजार ३३४ मतमै चित्त बुझाउनु परेको थियो ।
०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भट्टले दोश्रो पटक बाजी मारे । एमाले–माओवादी गठबन्धनका उम्मेदवार भट्टले ३१ हजार ३६९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार भण्डारीले २० हजार ९६० मतमा चित्त बुझाउनु परेको थियो । २०७९ सालको निर्वाचनमा भट्टले फेरी हारको सामना गर्नु परेको थियो ।
२०७५ सालमा एमाले र साविक नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी २०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले अलग भए पनि भट्ट एमालेमै थामिएका थिए । उनी एमालेबाट सोही क्षेत्रमा उम्मेदवार बनेका थिए ।
कांग्रेस-माओवादी–समाजवादीबीच गठबन्धन हुँदा कांग्रेस नेता बिरवहादुर बलायरले ३ हजार ६ सय १२ मत अन्तरले भट्टलाई पराजित गरेका थिए । बलायरले २६ हजार २७५ पाउँदा भट्टले २२ हजार ६६३ मै चित्त बुझाउनु परेको थियो ।
चारवटा निर्वाचनमा दुई जित र दुई हार व्यहोरेका भट्ट पाँचौं पटक मैदानमा छन् ।
कैलाली–४ मा नेपाली कम्युनिष्ट पार्टीले हरि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावल गरी ६ जनाले दावी पेश गरेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेवार छानिएका छैनन् ।
प्रतिक्रिया 4