२३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले गत २२ भदौमा सम्पन्न भएको विधान अधिवेशनबाटै एघारौं महाधिवेशनबाट बन्ने नयाँ अध्यक्ष र भावि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने निष्कर्ष निकालेको बताएका छन् ।
मंगलबार प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तर संवादमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘विधान महाधिवेशन भदौ २२ गते सम्पन्न भयो । त्यसपछि नेपालको परिस्थिति थोरै बदलियो । त्यतिखेर हामीले एकमतले के भन्यौं भने– विधानको बाटोमा आगामी बाटो के हो, राजनीतिक प्रतिवेदन अध्यक्ष कमरेडले राख्नुभएको थियो,’ भट्टले भने, ‘त्यो विधान अधिवेशनले के पास गर्यो भने– अबको भावि प्रधानमन्त्री को ? भन्दा अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पनि केपी शर्मा ओली नै भन्यौं ।’
विचार जसको हुन्छ, नेतृत्व पनि उसकै हुने उनले बताए । खतरा मोल्नसक्नेले मात्रै पार्टीको नेतृत्व लिनसक्ने पनि उनको जिकिर छ ।
‘अहिलेको सन्दर्भमा नेपालको जुन परिस्थिति छ, त्यसमा पार्टीका कामकाज अघि बढाउन नेतृत्व कस्तो आवश्यक छ भने, नेतृत्व भनेको आवश्यकतामा खतरा मोल्न सक्ने नेतृत्व चाहिएको छ । जो खतरा मोल्न सक्दैन, अकर्मण्यतामा फस्छ त्यसले नेतृत्व लिन सक्दैन,’ उनले भने ।
लिपुलेक लिम्पियाधुराको विवाददेखि नै राष्ट्रियताको लागि अडान दिनसक्ने नेतृत्व ओली नै रहेको उनको भनाइ छ ।
‘लिपुलेक लिम्पियाधुरा समस्या आयो । त्रिपक्षीय सीमा समस्या जुन छ, व्यापारको जुन केन्द्र छ । दुईदेशीय सीमा भनेर जुन समस्या सिर्जना भयो, त्यसको प्रतिवाद भनेको अध्यक्ष केपी शर्मा ओलीले प्रमाणसहितको चुच्चे नक्सामा आयो,’ भट्टले अघि भने, ‘एक सयको नोटमा पनि छाप्ने भनेर आयो । यो सबैलाई हेर्दा राष्ट्रियताका निमित्त अडान दिनसक्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पक्षमा दृढतापूर्वक राख्नसक्ने नेतृत्व अहिले एमालेभित्र केपी शर्मा ओली नै हुन् ।’
प्रतिक्रिया 4