२३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
मंगलबार काठमाडौंमा प्रेस चौतारीले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताए ।
नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुसी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनको तर्क छ ।
‘अहिलेको यो एघारौं महाधिवेशनले नेतृत्वमा जसरी केन्द्रीकरण गर्छ । त्यो पनि केपी कमरेडकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ । गोलबन्द भएर जानुपर्छ । र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ । र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ । वाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ । यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ,’ उनले भने ।
सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसार नै पार्टीको जिम्मेवारी लिने योजना बनाएको बताए ।
प्रतिक्रिया 4