+
यू-१९ महिला टी२० विश्वकप :

यू-१९ महिला विश्वकप : नेपाल रहेको समूह डी कस्तो ?

२०८१ माघ  १ गते १२:२३ २०८१ माघ १ गते १२:२३
यू-१९ महिला विश्वकप : नेपाल रहेको समूह डी कस्तो ?

१ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप २०२५ यही जनवरी १८ देखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो जहाँ १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक मलेसिया, नेपालजस्ता टोलीले पहिलो पटक यू-१९ महिला विश्वकप खेल्दैछन् । केही टोली सिधै विश्वकप खेल्दा केहीले छनोट चरण पार गरेर आएका छन् ।

यस लेखमा हामी यू-१९ महिला विश्वकपको समूह डी मा रहेको टोलीहरुको बारेमा जानकारी दिनेछौं ।  पहिलो पटक यू-१९ महिला विश्वकपमा छनोट भएको नेपाल यसै समूहमा छ ।

समूह डी मा नेपालसहित, अष्ट्रेलिया र बंगलादेश अनि छनोट चरण पार गरेर आएको स्कटल्याण्ड छ । कस्ता छन् त समूह डी का चार टिम ?

अष्ट्रेलिया
सन् २०२३ मा भएको पहिलो संस्करणमा सेमिफाइनल पुग्नेमध्ये एक टिम अष्ट्रेलिया हो । त्यसबेला अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्याण्डसँग ३ रनले पराजित भएको थियो ।

पहिलो संस्करण खेलेका ५ खेलाडी यसपटक पनि मलेसियामा खेल्दैछन् । जसमा दक्षिण अफ्रिकाका भएको पहिलो संस्करणमा सर्वाधिक विकेट लिएकी म्यागी क्लार्क पनि छिन् । त्यसबेला उनी जम्मा १५ वर्षकी थिइन् ।

यसैगरी कप्तान लुसी हामिल्टन र चोल अइन्सवर्थले पनि दोस्रो पटक खेल्दैछन् । उनीहरुसँग बिग बास वुमन्स लिग खेलेको अनुभव पनि छ । यस्तै १५ वर्षीय राइजिङ स्टार काइमहे ब्रे पनि टिममा छिन् ।

न्यु साउथ वेल्सकी युवा स्टार ब्रेले अष्ट्रेलियाको लागि जुनियर फुटबल खेलिसकेकी छन । उनलाई सिड्नी सिक्सर्सको टिममेट एलिस पेरीसँग तुलना पनि गरिन्छ ।

अष्ट्रेलियाले सन् २०२४ मा गोल्डकोस्टमा भएको श्रीलंका र न्युजिल्याण्ड सम्मिलित ट्राई सिरिजमा चार खेल जितेको थियो र राम्रो लयमा रहँदै मलेसिया पुगेको छ ।

बंगलादेश
बंगलादेशले सन् २०२३ को पहिलो खेलमै अष्ट्रेलयालाई हराएर अप्रत्याशित नतिजा निकालेको थियो । २० जनवरीमा यी दुई टोली फेरि एकपटक भेट्दा सोही प्रदर्शन दोहोर्‍याउने अवसर बंगलादेशलाई हुनेछ ।

दुई वर्षअघि बंगलादेश तीन खेल जित्दै आफ्नो समूहको शीर्ष स्थानमा रहेको थियो । शोर्न अख्तर टिम अफ दि टुर्नामेन्टमा समावेश भएकी थिइन् । पछि उनी सिनियर टिममा समेत पर्न सफल भइन् ।

सुमाइया अख्तर यस पटक कप्तान छिन् । उनले २०२३ मा पनि खेलेकी थिइन् । त्यसबेला अष्ट्रेलियाविरूद्ध सुमाइयाले अविजित ३१ रन बनाएकी थिइन् । उनीसँग सिनियर टिममा दुई खेल खेलेको अनुभव छ । यस्तै हाबिबा इस्लाम र निशिता अख्तर निशीले पनि सिनियर टिमको प्रतिनिधित्व गरिसकेका छन् ।

सुमाइयाले बंगलादेशलाई गत डिसेम्बरमा भएको पहिलो एसीसी वुमन्स यू१९ एसिया कपमा बंगलादेशलाई फाइनलसम्म पुर्‍याएकी थिइन् । तर भारतसँग पराजित भएको थियो । मलेसियामै विश्वकप हुने भएकोले बंगलादेशका लागि राम्रो प्रदर्शन गर्ने अवसर हुनेछ ।

नेपाल
नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुने अन्तिम टिम हो । एसिया क्वालिफायरमा युएईलाई नेटरनरेटमा पछि पार्दै नेपालले मलेसियाको टिकट काटेको थियो ।

दक्षिण एसियाली राष्ट्र नेपालले छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक विश्वकपमा पुगेको थियो । उक्त खेलमा कृष्मा गुरुङले ४ विकेट लिएकी थिइन् । कृष्मा विश्वकप खेल्ने टिममा पनि छन् ।

नेपालको कप्तानी पुजा महतोले गर्ने छिन् । उनीसँग सिनियर टिमबाट २० टी२०आई खेलेको अनुभव छ । पुजाले सन् २०२३ मा सिनियर टिमका लागि डेब्यु गरेकी थिइन् । उनले सिनियर टिमबाट एसिया कप पनि खेलेकी छन् ।

नेपाललाई यू१९ विश्वकपमा छनोट गराउन पुजाले महत्वपूर्ण भूमिका खेलेकी छिन् । उनले एसिया छनोटअन्तर्गत कुवेतविरूद्धको खेलमा ६९ बलमा अविजित १३० रन बनाउनुका साथै त्यही खेलमा ५ विकेट लिएकी थिइन् ।

पुजाकै कप्तानीमा यू-१९ महिला एसिया कपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । बंगलादेशसँग पराजित भएपछि नेपाल फाइनल पुग्न भने सकेन ।

नेपालले यू-१९ विश्वकपमा पनि बंगलादेशसँग खेल्दैछ । १८ जनवरीमा यी दुई टोली भेट हुँदा नेपाल सामु बदला लिने अवसर समेत छ ।

स्कटल्याण्ड
स्कटल्याण्ड दोस्रो पटक यू-१९ विश्वकप खेल्दैछ । यसअघि समूह चरणबाटै बाहिरिएको स्कटल्याण्ड यस पटक त्योभन्दा अगाडि पुग्ने लक्ष्यमा छ ।

सन् २०२३ मा पनि टिममा रहेकी निएमह मुइरले यस पटक यू-१९ महिला विश्वकपमा स्कटल्याण्डको कप्तानी गर्दैछिन् । स्कटल्याण्डले यसअघि प्लेअफमा अमेरिकालाई मात्र हराउन सफल भएको थियो ।

मोली बार्बोउर-स्मिथले पहिलो पटक विश्वकप खेल्दैछिन् । चोटका कारण उनले दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप गुमाएकी थिइन् । क्रिस्टी म्याकोलले बार्बोर-स्थिमलई रिप्लेस गरेकी थिइन् । अहिले दुवै खेलाडी टिममा छन् ।

स्कटल्याण्डले अष्ट्रेलियासँग खेल्दै विश्वकप यात्रा थाल्नेछ । त्यसपछि नेपाल र बंगलादेशसँग खेल्नेछ । स्कटल्याण्डले पछिल्ला दुई टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

मुख्य प्रशिक्षक कारी कार्सवेलले स्कटिस टिम सबै क्षेत्रमा राम्रो रहेको बताउँदै यो खेलाडीको लागि राम्रो अवसर हुने बताएका छन् ।

-आईसीसीबाट साभार

आईसीसी यू-१९ महिला टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय