
१ माघ, काठमाडौं । नइ प्रकाशनले भारतका चारजना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार दिने घोषणा गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको विशेष बैठकले सो निर्णय गरेको हो ।
नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका श्री केबी नेपालीलाई समर्पण गर्ने निर्णय गरेको छ ।
साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विगत साढे ६ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत नेपालीलाई सो पुरस्कार समर्पण गर्न लागिएको नइ प्रकासनले जनाएको छ ।
यो पुरस्कार नेपाली–गोर्खालीमूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।
यस्तै, वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । संगीतको माध्यमबाट नेपाली गीतलाई देशदेशान्तरमा जनप्रिय बनाउन योगदान गरेकाले संगीतकार गजमेरलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्न लागिएको नइ प्रकाशनले जनाएको छ ।
यसैगरी, नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा. जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
साथै, नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा. शान्ति क्षेत्रीलाई ‘नइ गणेशदूर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यी तीनवटा पुरस्कारका राशि जनही एक लाख रुपैयाँका रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
प्रतिक्रिया 4