+
+

चिनियाँ नागरिकको अपहरणमा संलग्न भारतीयलाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १२:४८

३ माघ, काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेंदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न बुधबार अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार, हिरासतमा राख्न अनुमति लिइएकाहरुमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् ।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान थालिएको अधिकारीले बताए । ‘यो अवधिमा बयान लिने र अनुसन्धानका अन्य कामहरु अघि बढ्छन्’, उनले अनलाइनखबरसँग भने ।

मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । चिनियाँ नागरिक हराएको भनिएको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो ।

‘भारतीय नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जानसक्ने सम्भावित स्थानहरुमा चेक पोइन्ट राखेका थियौं’, कार्यालयका एसएसपी सानुराम भट्टराईले अनलाइनखबरसँग भनेका छन्, ‘त्यसक्रममा मकवानपुरको भीमफेंदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

यद्यपि, प्रहरीको चेकपोइन्ट देखेपछि केही भारतीय र चिनियाँ नागरिक भागेका थिए । पछि भारतीय नागरिकहरु भीमफेंदीबाटै पक्राउ परे भने चिनियाँ नागरिकलाई प्रहरीले मकवानपुरकै फर्पिङमा फेला पारेको थियो ।

प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

‘उनीहरु कुनै ठगीको प्रकरणमा जोडिएको जस्तो देखिन्छ, चिनियाँ नागरिकले दिने भने अनुसारको रकम नदिएपछि भारतीय नागरिकहरु काठमाडौंमा आएर अपहरण प्रयास गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ठगीको सन्दर्भमा यो नेपालसँग जोडिएको विषय जस्तो देखिँदैन, त्योबारेमा बेग्लै रुपमा जाँच गर्नुपर्ने देखिन्छ ।’

जाँचका क्रममा थप तथ्यहरु खुले चिनियाँ नागरिकमाथि समेत अनुसन्धान गर्नुपर्ने हुनसक्ने अधिकृतहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?