+
+

डेढ अर्बमा बन्यो चारतारे ‘बेस्ट वेस्टर्न प्लस’, ९ माघदेखि सञ्चालन हुने

बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो । चारतारे स्तरको होटल बेस्ट वेस्टर्न प्लस स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २०:५९

८ माघ, काठमाडौं । मुलुकको आतिथ्य सत्कार उद्योगमा पछिल्लो पटक ठूला लगानीका होटल स्थापना हुने क्रम तीव्र गतिमा बढिरहेको छ ।

यसैबीच काठमाडौं गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ स्थापना भएको छ । यो होटल ९ माघदेखि औपचारिक रूपमा सञ्चालनमा आउने छ । होटल उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले गर्नेछन् ।

बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो । चारतारे स्तरको होटल बेस्ट वेस्टर्न प्लस स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले जानकारी दिए ।

उनका अनुसार होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन् । होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पा लगायत विशेषता छन् ।

होटलमा १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।

‘नेपालमा ऊर्जा र पर्यटन क्षेत्रमात्र त्यस्ता क्षेत्र हुन् जसको सम्भावना व्यापक र दीर्घकालीन छ,’ होटलका अध्यक्ष अर्यालले अनलाइनखबरसँग भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट एकदमै नजिक रहेका कारण होटल बेस्ट वेस्टर्न प्लसले चाँडै बजारमा स्थापित हुने विश्वास छ ।’

होटलले युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देशका पर्यटकसँगै बढी पैसा खर्च गर्ने भारतीय पर्यटक बढी लक्षित गर्ने अर्यालले जानकारी दिए । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई होटलमा आकर्षित गर्ने बजार रणनीति रहेको उनले बताए ।

‘युरोप, अमेरिका वा अस्ट्रेलियाका मात्र पर्यटक लक्षित गरेर होटल सञ्चालन गर्न सकिँदैन,’ होटल अध्यक्ष अर्यालले भने, ‘भारतीय पर्यटक पनि प्रिमियम हुन्छन् ।’

अर्यालको समूहले होटल बेस्ट वेस्टर्न प्लसमा डेढ अर्ब रुपैयाँ लगानी गरेको छ । उनको समूहले होटल व्यवस्थापन अध्यापन गराउने एपालो इन्टरनेसनल कलेज सञ्चालन गर्दै आएको छ । उनको समूहको सुरुवात नै यही कलेज स्थापनाबाट भएको थियो ।

‘अब हाम्रा कलेजमा होटल व्यवस्थापन अध्ययन गरेपछि प्राक्टिकल (व्यावहारिक) ज्ञानका लागि आफ्नै होटल बनेको छ,’ अर्यालले भने, ‘यसबाट हाम्रा विद्यार्थीलाई थप सहज हुनेछ ।’

होटल बेस्ट वेस्टर्न प्लसको व्यवस्थापन अमेरिकी होटल व्यवस्थापन कम्पनी बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्ट्स (बीडब्लू) ले सम्हालेको छ ।

सन् १९४६ मा अमेरिकाको एरिजोनामा स्थापना भएको बीडब्लूले विभिन्न देशमा गरी हाल ४ हजार ७ सयभन्दा बढी होटल व्यवस्थापन गर्दै आएको छ । उत्तर अमेरिकामा मात्र यसले २ हजारभन्दा बढी होटल व्यवस्थापन गरिरहेको छ ।

बीडब्लूले पाँचतारे स्तरका होटलका लागि बेस्ट वेस्टर्न प्रिमियर, चारतारेका लागि बेस्ट वेस्टर्न प्लस र तीनतारेका लागि बेस्ट वेस्टर्न ब्रान्डमा होटल व्यवस्थापन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?