+

नेपाली भलिबलमा उचाइको उडान भर्ने तयारीमा एनभीएल

२०८१ माघ  १० गते २२:४१ २०८१ माघ १० गते २२:४१
नेपाली भलिबलमा उचाइको उडान भर्ने तयारीमा एनभीएल

१० माघ, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको माहोल बढिरहेको छ । क्रिकेट, फुटबल, भलिबल, कबड्डी चार खेलको फ्रेन्चाइज लिग नेपालमा भइसकेको छ ।

त्यसमध्ये क्रिकेट एनपीएल, महिला भलिबलको इडब्लुभिएल भइसकेको छ भने अहिले कबड्डीको एनकेएल चलिरहेको छ । अब छिट्टै पुरूष भलिबलको नेपाल भलिबल लिग (एनभीएल) गर्ने तयारी भइरहेको छ भने नेपाल सुपर लिग फुटबल पनि मार्च अन्तिमदेखि गर्ने घोषणा भइसकेको छ ।

फ्रेन्चाइज लिगले छुट्टै माहोल बनाउने र खेल र खेलाडीमा पनि व्यावसायिकता ल्याउने भएकोले पनि यसको चर्चा र महत्व बढी नै हुने गर्छ । नेपालको राष्ट्रिय खेल भलिबलको एकै वर्ष पुरूष र महिला दुवैको फ्रेन्चाइज लिग हुने क्रममा छ ।

त्यसैले अहिले केडिया ग्रुप पनि नेपाल भलिबल लिग (एनभीएल) को आयोजनाका लागि तीव्र तयारी गरिरहेको छ । आधिकारिक मिति घोषणा नभएपनि आगामी चैत भित्रै एनभीएल आयोजना गर्ने लक्ष्य छ ।

नेपालको व्यावसायिक घरना तथा खेलप्रति चासो राख्ने केडिया ग्रुपले नेपाल भलिबल संघसँग ७ वर्षका लागि लिग आयोजनाको अधिकारी लिएको छ । आयोजकले एनभीएलको लागि ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । सो स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित केडिया ग्रुपले तयारी थालेको हो ।

फ्रेन्चाइज लिगमार्फत विश्व स्तरका खेलाडीदेखि विदेशी खेलाडीहरु नेपाल आउने भएकोले पनि यसले समर्थकहरुलाई आकर्षण गर्नेछ ।

केडिया ग्रुप नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर नै लिगलाई छिट्टै उचाइ र रोमाञ्चकता दिने प्रयासमा छ । नेपालमा पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो । त्यसैले यसको राम्रो सुरुवात गर्ने गर्ने लक्ष्यमा बयोजक लागिपरेको छ । भविष्यमा एनभीएललाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक रहेको छ ।

त्यसका लागि स्टार खेलाडी भित्राउने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभीएलको लोगो सार्वजनिक भैसकेको छ ।

यसैगरी एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो यसअघि नै लागिसकेको छ । हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनभीएल ९ दिन सञ्चालन हुनेछ र लिगमा १५ खेल हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

एनभीएललाई भविष्यमा होम एन्ड अवेका आधारमा आयोजना गर्ने र यसलाई उत्कृष्ट फ्रेन्चाइज लिग बनाउने केडिया ग्रुपको दीर्घकालीन लक्ष्य छ ।

नेपाल भलिबल संघ र केडिया ग्रुपबीच एनभीएल आयोजनाका लागि सम्झौता भइसकेको छ ।

केडिया ग्रुपका सिइओ अश्विन केडियाले आफैं पनि भलिबल खेलप्रेमी हुन् । त्यसैले पनि उनले भलिबल खेलको उत्कृष्ट लिग आयोजनाको लक्ष्य राखेका छन् ।

अश्विन केडियाले अब छिटै एनभीएलको मिति घोषणा र फ्रेन्चाइज टिमहरु पनि सार्वजनिक गर्ने बताएका छन् । यस्तै मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्दता पनि छुट्टै टुंग्गो लगाइने आयोजकले जनाएको छ । हरेक टिममा ३ विदेशी खेलाडी हुनेछन् भने स्थानिय खेलाडीलाई पनि अवसर दिनका लागि ट्यालेन्ट हन्टबाट पनि खेलाडीलाई टिममा राखिनेछ ।

नयाँ प्रतिभाले विश्वस्तर खेलाडीसँग खेल्न पाउँदा मात्र नेपालको राष्ट्रिय खेल विकासमा ठूलो टेवा पुग्ने आयोजकको बुझाई छ ।

एनभीएलका सिइओ अश्विन केडिया भलिबल राष्ट्रिय खेल भए पनि यसलाई थप उचाइ दिनका लागि व्यावसायिक लिगको आवश्यकता रहेकोले आफूहरु भलिबमा जोडिएको बताए । त्यसैको नतिजा एनभीएल गर्न लागिएको हो । ‘एनभीएलमार्फत हामी नेपाली भलिबललाई थप उचाईमा पुर्‍याउने लक्ष्य लिएका छौँ र यसलाई अन्तर्राष्ट्रिय भलिबलमै स्थापित बनाउनका लागि कुनै कसर बाँकी राख्नेछैनौँ ।’ सिइओ अश्विन केडियाले भने ।

एनभीएल नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय