१५ माघ, काठमाडौं । पोखरामा भइरहेको टाइगर कप भलिबलको महिलातर्फ विभागीय टोली एपीएफ र आयोजक टाइगर ग्रुप पोखरा क्वालिफायर प्रवेश गरेको छ ।
विनर ग्रुपअन्तर्गत मंगलबार भएको खेलमा टाइगर ग्रुपले न्यु डायमण्डलाई सोझो सेटमा पराजित गरेपनि क्वालिफायर खेल्ने दुई टोलीको टुंगो लागेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई २७-२५, २५-२१, २५-२१ ले पराजित गरेको हो ।
यसअघि न्यु डायमण्ड विनर ग्रुपको पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । दुवै खेल हारेको न्यु डायमण्ड विनर ग्रुपमा तेस्रो भएपछि अब इलिमिनेटर खेल्नुपर्ने भएको छ ।
विनर ग्रुपबाट आयोजक टाइगर ग्रुप र एपीएफ शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् । अब यी दुई टोलीबीच क्वालिफायर अघि विनेर ग्रुपको अन्तिम खेल हुनेछ । जसबाट ग्रुपको पहिलो र दोस्रो हुने टोलीको टुंगो लाग्नेछ ।
यस्तै लुजर ग्रुपमा दुवै खेल जित्दै नेपाल पुलिस क्लब इलिमिनेटरमा प्रवेश गरेको छ । लुजर ग्रुपअन्तर्गत मंगलबार भएको विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पारजित गर्दै पुलिसले इलिमिनेटरमा स्थान बनाएको हो ।
पुलिसले आर्मीलाई २५–१८, २५–२१, २५–१९ ले पराजित गरेको हो । पुलिसले लुजर ग्रुपमा यसअघि ट्राभल इन्क्वारी युनाइटेड क्लब थाइल्याण्डलाई ३-१ को सेटमा हराएको थियो ।
पुलिसले अब क्वालिफायर टु मा पुग्न विनर ग्रुपमा तेस्रो भएको न्यु डायमण्डसँग खेल्नेछ । पुलिस पहिलो खेलमा पनि न्यु डायमण्डसँग नै पराजित भएको थियो ।
आर्मी र ट्राभल इन्क्वारी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया 4