+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बेथानचोकका बगर खोस्रिंदै खेती गर्ने तरखर

बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपासको क्षेत्र, ३ नम्बर वडाका पाट्ने खोलाछेउका फाँट तथा ४ नम्बर वडाको सलान्दु खोलाछेउका खेतबारी तरकारी रोप्नका लागि तयार छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८१ माघ १७ गते १४:२०
तस्वीर सौजन्य : बेथानचोक गाउँपालिका

१७ माघ, काभ्रे । असोजको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका पाट्ने खोला, दुर्लुङखोला र सलान्दु खोलामा ढुंगामाटो सहित आएको गेगरले खेतलाई बगरमा परिणत गर्‍यो । उर्बर खेतीयोग्य जमिनलाई बाढीले क्षति पुर्‍याएपछि मर्कामा परेका किसान अहिले आफ्नै बलबुतामा खेतबारी सफा गरेर पुनः तरकारी खेतीमा जुटेका छन् ।

बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपासको क्षेत्र, ३ नम्बर वडाका पाट्ने खोलाछेउका फाँट तथा ४ नम्बर वडाको सलान्दु खोलाछेउका खेतबारी तरकारी रोप्नका लागि तयार छन् ।

बेथानचोक-३ का इन्द्रलाल श्रेष्ठको १० रोपनी खेत र त्यहाँ लगाएको करिब ४ लाख रुपैयाँ बराबरको आलु, मकै र तरकारी बाढीले बगायो । उनी अहिले त्यही बगरमा परिणत भएको खेत बिराउँदै छन् ।

‘बगाएको बाली कता हो, खेतबारी कता हो, केही नामनिसानै रहेन, कृषिबाहेक अरू इलम छैन, अरू काम गर्ने सीप पनि छैन । बाढीले क्षति गराएको बगर नबिराई सुखै भएन’ उनले भने, ‘बाढीले बिगारेको खेत अरू कसैले बनाइदिने आस पनि छैन । त्यही भएर जति सकिन्छ जसरी सकिन्छ खेत बनाउन लागें ।’

उनीले खेत बनाउन एक घण्टाको ६ हजार रुपैयाँ तिरेर १८ घण्टा डोजर प्रयोग गरेको र दिनको १५ हजार रुपैयाँ तिरेर ३ दिन टिपर प्रयोग गरेको बताए । ऋण गरेरै खेत बनाउन करिब डेढ लाख रुपैयाँ खर्चिसकेको उनको भनाइ छ । खेत बनाइसकेपछि आलु, बन्दा, मुला र धनियाँलगायत तरकारी लगाउने योजना उनको छ ।

विशेषगरी नगदे बालीका रूपमा आलु र तरकारी खेति गरेर आम्दानी गर्दै आएका स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्‍याएको बताए ।

माघको पहिलो हप्ता आलु लगाइसक्नुपर्ने भए पनि यो पटक माघको तेश्रो हप्ता लाग्दासम्म आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको उनको भनाइ छ । ‘डोजर जाने ठाउँमा डोजरले सम्याइयो तर डोजर नजाने ठाउँमा अझै समस्या छ,’ उनले भने,’ ‘सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीबन गुजार्न समस्या छ । जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प छैन ।’

स्थानीय सीता तिमल्सिनाले थातथलो छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सपारेर खेतीपाती गर्ने तयारी गरेको बताइन् ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बाढी पहिरो पीडित किसानहरू बाढी पीडित किसानहरूलाई सघाउन खाद्य सुरक्षाका लागि कार्यक्रम गर्ने निर्णय गरेको बताए ।

पहिलो चरणमा पाट्ने खोला, दुर्लुङ खोला, सलान्दु खोलाको सीमांकन तथा व्यक्तिको जग्गाको साँधसिमाना छुट्याउने तयारी भइरहेको बताए । उक्त कार्यका लागि नापी र मालपोत कार्यालयसँग समन्वय र सहकार्य भइरहेको पालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

‘ढुंगा–माटोसहित आएको गेगरले खेलाको उचाइ किसानका खेतबारी भन्दा माथि भएकाले खोला क्षेत्रमा वातावरणीय मूल्यांकन गरी खोला गहिर्‍याउने र खोला क्षेत्रका किसानका खेतहरूको सिमाना छुट्याउने काम भइरहेको छ,’ उनले भने ।

पर्यटन, कृषि र पशुमा आत्मनिर्भर बेथानचोकमा बाढी पहिरो अघि दैनिक ५ देखि ६ लाख रुपैयाको तरकारी र दूध बिक्री हुने गरेको थियो । तर विपद्पछि दूधको संकलनमा केही तलमाथि भए पनि तरकारीको निर्यात शून्य भएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।

बेथानचोक गाउँपालिकाभर करिब ४ हजार २ सय घरधुरी रहेकामा विपद्बाट १ हजार ९२६ जना किसान प्रभावित भएको तथ्यांक छ । पालिकाको कूल कृषियोग्य ३ हजार ३४४ हेक्टर क्षेत्रफल जमिनमध्ये ९ सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?