
१८ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाको ३ वटा वडालाई जोड्ने पुल सञ्चालनमा आएको छ । महानगरपालिकाले वडा नम्बर १३, १४ र २५ लाई जोड्न निर्माण गरेको पक्की पुलको आज शुक्रबार उद्घाटन भएको हो ।
दक्षिण ललितपुरको क्षेत्रहरू बुंङ्गमती, खोकनातर्फका बासिन्दालाई सहज हुनेगरी महानगरले नख्खु खोलामा पुल निर्माण गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल उद्घाटन गरेका हुन् ।
तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुल २ करोड ७० लाख रुपैयाँमा निर्माण गरेको हो । महानगरले ३ भदौ २०७९ मा ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र सकाउने सम्झौता भएपनि सम्पन्न नभएपछि २० मंसिर २०८१मा म्याद थपेको थियो ।
पुल सञ्चालन भएपछि दक्षिण ललितपुर क्षेत्रका नागरिकलाई सहज हुने भन्दै महानगर प्रमुख महर्जनले सबैको लागि विकास गरिरहेको बताएका थिए । उनले कोरसिटीमा मात्रै नभई महानगरको उपस्थिती नयाँ र बाहिरी शहरहरुमा पनि भइरहेको बताएका थिए ।
महानगरले अपाङ्गता भएका नागरिकलाई मध्यनजर गरी अपाङ्गतामैत्री आकाशे पुल निर्माणको काम पनि गरिरहेको बताए ।
‘महानगरले शारीरिक रूपमा अशक्त, बालबालिका र जेष्ठ नागरिक सबैलाई सहज होस् भन्ने हिसाबले अपाङ्गतामैत्री पुल निर्माणलाई प्राथमिकतामा राखेको छ,’ पुलको शिलन्यास कार्यक्रममा उनले भने ।
प्रतिक्रिया 4