
२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई निलम्बन गरेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन् ।
निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो ।
डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि यूएसएआईडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो ।
डिपार्टमेन्टका कर्मचारीहरूले यूएसएआईडीको मुख्यालयमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूले सिस्टममा पहुँच नदिए सुरक्षा अधिकारीलाई बोलाउने धम्कीसमेत दिएका थिए ।
विवादका बीच उनीहरू यूएसएआईडीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए ।
गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीहरू बिना अनुमति यूएसएआईडीको संवेदनशील स्थानहरूमा प्रवेश गरेको दाबी सीएनएनले गरेको छ । उनीहरूले नागरिकको गोप्य सूचना समेत संकलन गरेका थिए ।
गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टकी एक कर्मचारी कैटी मिलरले भने गोप्य सामग्रीमा बिना अनुमति पहुँच नगरिएको स्पष्ट पारेकी छन् ।
यसैबीच, इलन मस्कले एक्समा लेखेका छन्, ‘यूएसएआईडी एक आपराधिक संगठन हो, अब यसलाई बन्द गर्ने समय आइसकेको छ ।’
अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ ।
शनिबार यूएसएआईडीको आधिकारी वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टहरू बन्द गरिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा शपथ लिएपछि विदेशमा जाने सबैप्रकारका सहायता ९० दिनका लागि रोक्ने आदेश दिएका थिए । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।
यूएसएआईडीले विभिन्न देशका सरकारी, गैरसरकारी र निजी संस्थासँगै स्थानीय समुदायहरूसँग पनि मिलेर काम गर्दै आएको छ । संस्थालाई अमेरिकी संसदबाट रकम प्राप्त हुन्छ ।
कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ । यसले स्वास्थ्य, शिक्षा, आर्थिक विकास, लोकतन्त्र, सुशासन र विपद् व्यवस्थापनको क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।
संसारका झन्डै १०० देशमा यूएसएआईडीले काम गर्दै आएको छ । यीमध्ये पनि अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्ये पूर्वमा यसले आफ्नो सहयोगलाई केन्द्रित गर्दै आएको छ । यसको उद्देश्य अमेरिकी विदेश नीतिलाई अगाडि बढाउनु रहेको छ ।
उनले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भने, ‘मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।’ ट्रम्प यूएसएआईडीलाई विदेश विभागमा राख्न चाहेका छन् भन्ने पनि खबर आएको छ ।
प्रतिक्रिया 4