+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कोशी बन्दप्रति निजी क्षेत्रको ध्यानाकर्षण, लगानीमैत्री वातावरण बिथोलिने चिन्ता

बन्द हड्ताल जस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने निजी क्षेत्रका छाता संगठनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १९:१५

२२ माघ, काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबुलकार निर्माण परियोजना अघि बढिरहेका सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले बन्द–हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह समेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषय लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द–हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको बताएका छन् ।

यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने ती संगठनको भनाइ छ ।

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ संयुक्त विज्ञप्तिमा छ, ‘तर, विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालालाई यस विषयमा गम्भीर बन्न, विकास निर्माण कार्य सहज र निर्वाध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।’

केबुलकार निर्माणका लागि स्थानीय तह र स्थानीयवासिन्दा सहमत हुनुपर्छ भन्ने धारणा राखिरहेका सन्दर्भमा केबुलकार बन्न दिनु हुँदैन भनेर वाह्य हस्तक्षेप सहित निर्माण कार्यमा अवरोध हुनु दुःखद हो ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त, बालबालिका सहित अन्यलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकला विकास मार्फत व्यवसाय प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै केबुलकार निर्माणका लागि स्थानीय तह र स्थानीयवासिन्दा सहमत हुनुपर्छ भन्ने धारणा राखिरहेका सन्दर्भमा केबुलकार बन्न दिनु हुँदैन भनेर वाह्य हस्तक्षेप सहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाह रोक्ने प्रयासका रूपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा छ ।

उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुका साथै नेपालमा लगानी गर्ने लगानीकर्तालाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यस्तै उनीहरूले समस्या समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मक्कुम्लुङ) केबुलकार परियोजना सहज र निर्वाध अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालालाई अपिल गरेका छन् ।

उता, उद्योग वाणिज्य महासंघ कोशी, गण्डकी र कर्णाली प्रदेशका सभापतिहरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यसबारे महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

देशको व्यावसायिक ग्रुपको अगुवाईमा निर्माण हुन लागेको केबुलकार आयोजना विरुद्ध भएका क्रियाकलापले देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको निजी क्षेत्रको धारणा छ ।

उनीहरूले कोभिड महामारी लगायत कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउन नेपाल सरकार र निजी क्षेत्र लागिपरिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन् ।

‘राज्यको नियम, कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीयवासिन्दाको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको वाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ । यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ । उनीहरूको संयुक्त विज्ञप्तिमा छ ।

देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधार निर्माण गरी दसौं हजारलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाईमा निर्माण हुन लागेको केबुलकार आयोजना विरुद्ध भएका क्रियाकलापले देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको निजी क्षेत्रको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?