 
																			२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गलत नीतिले देशमा ऋण बढेको जिकिर गरेका छन् ।
बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ।’
उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो ।’
प्रचण्डले भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरुको प्रगति २० प्रतिशत पनि पुग्न नसकेको जिकिर गरे ।
प्रचण्डले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे ।
‘प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा’ उनले भने, ‘तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ ।’
प्रचण्डले सिद्धबाबा सुरुङमार्ग बारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबीको खण्डन गरेका छन् । ‘अस्ति हामीले यो संसदमा सुन्यौं, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो’ उनले भने, ‘उहाँ भावुक हुनुभयो, अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो ।’
उनले प्रश्न गरे, ‘२०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुती कति कमजोर छ ?’
नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै प्रचण्डले आफैं आफ्नो पीठ थप्थप्याएर आफैंले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताए ।
उनले भने, ‘संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’
पूँजीगत खर्च जम्मा १६ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै प्रचण्डले मन्त्रालयहरुले पुरानो ठेक्काको भुक्तानी र नयाँ आयोजनाको ठेक्का लगाउन नसकेको बताए ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4