+
+
Shares

शिक्षकलाई संगीतको सारेगम

वाद्यवादन बजाउन सिक्न पाउँदा शिक्षकहरु पनि खुसी छन् । गितार बजाउन सिकिरहेकी शिक्षिका निर्मला आचार्य भन्छिन्, ‘हामी यहाँ जति सिकेर जान्छौं, बच्चाहरुलाई पनि त्यति नै सिकाउने लक्ष्य लिएर म तालिममा आएकी छु ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १०:५७
राप्ती गाउँपालिका कार्यालयको हल कोठाभित्र हार्मोनियम बजाउन सिक्दै शिक्षकहरु ।

२९ माघ, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका भवनको एउटा कोठामा घिन्ताङ-घिन्ताङ मादल घन्किरहेको छ । अर्को कोठामा हार्मोनियममा केही मानिसहरु सारेगमको सुर मिलाउने प्रयास गरिरहेका छन् । अर्कोतिर गितारको झन्कार सुनिन्छ ।

यो फरक-फरक सांगीतिक माहोल शिक्षक-शिक्षिकाहरुका लागि गाउँपालिकाले निःशुल्क सञ्चालन गरिरहेको वाद्यवादन तालिमको हो ।

यही तालिम कक्षामा छिन्, राप्ती गाउँपालिका-१, पाखापानीस्थित नवप्रतिभा आधारभूत विद्यालयकी शिक्षिका निर्मला आचार्य । उनले गितार बजाउन सिकिरहेकी छन् ।

गितार सिक्नका लागि उनी विद्यालय बन्द भएको दिन २० रुपैयाँ (एकतर्फी गाडी भाडा) तिरेर गाउँपालिका कार्यालय आउँछिन् ।

तालिमको पहिलो दिन माघ १६ गते (शहीद दिवसको सार्वजनिक बिदाको दिन) उनले गितार बजाउने अभ्यास गरिन् । यसअघि कहिल्यै गितार नछोएको बताउने आचार्यले अनलाइनखबरसँग पहिलो दिनको तालिमको अनुभव साटिन्, ‘संगीत भनेको जटिल विधा रहेछ, गितार त झनै गाह्रो !’

*** ***

सर्वोदय मावि सिसहनियाँको निमावि तहका अंग्रेजी विषय शिक्षक लक्ष्मण सारुमगर पनि गाउँपालिकाको संगीत कक्षा लिइरहेका छन् । उनले हार्मोनियम बजाउन सिकिरहेका छन् ।

सुरुमा सारेगम बजाउन अभ्यास गरेका उनी रमाइलो लागिरहेको अनुभव सुनाउँछन् । ‘पहिले भस्मैताल बजाइन्थ्यो, वास्तवमा शास्त्रीय संगीतमा बजाउनुपर्दो रहेछ,’ उनी भन्छन्, ‘अहिले बेसिक कुराबाट सिक्ने अवसर पाउँदा रमाइलो लागिरहेको छ । हार्मोनियम बजाउन सिक्दा अटोमेटिक गाउन पनि सिकिने रहेछ ।’

शिक्षण सिकाइ सुधार्ने प्रयास

लक्ष्मण र निर्मलाजस्ता राप्ती गाउँपालिकाका सबै २७ वटा सरकारी स्कुलका ५० जना शिक्षक–शिक्षिकाहरु वाद्यवादन तालिममा सहभागी छन् । उनीहरुलाई समूह विभाजन गरी हार्मोनियम, मादल र गितार बजाउने तालिम सञ्चालन गरिएको छ । लमहीका बेदुलाल सुवेदी र सचेत विरही भण्डारीले शिक्षकहरुलाई वाद्यवादन तालिम दिइरहेका छन् ।

सार्वजनिक बिदाको दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तालिम दिने गरिएको छ । नास्ता, खाना र खाजाको व्यवस्था समेत पालिकाले नै गरिदिएको छ । पालिकाका अनुसार वाद्यवादन तालिम एक महिनासम्म (साताको एक दिन) चल्ने छ । सो अवधिभर शिक्षकहरुलाई यातायात खर्च र प्रशिक्षकहरुलाई नियमानुसार पारिश्रमिकको व्यवस्था पालिकाले गरेको छ ।

राप्ती गाउँपालिका कार्यालयको हल कोठाभित्र गितार बजाउन सिक्दै शिक्षकहरु ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्ट यो तालिमले शिक्षण सिकाइ सुध्रिने विश्वास गर्छन् । ‘संगीतले सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउने भएकाले शिक्षकहरुलाई यसको प्रयोगात्मक ज्ञान दिइएको हो,’ गाउँपालिका अध्यक्ष विष्टले अनलाइनखबरसँग भने ।

शिक्षणलाई प्रभावकारी बनाउन नवीन विधिहरु अपनाउनु आवश्यक रहेको भन्दै उनी बदलिँदो समयसँगै शिक्षकहरुलाई संगीतको ज्ञान पनि अत्यावश्यक भइसकेको बताउँछन् । ‘संगीत शिक्षा केबल कला मात्र होइन, यो अनुशासन पनि हो र पढाइलाई प्रभावकारी बनाउने विधि पनि हो,’ अध्यक्ष विष्ट भन्छन्, ‘संगीत आफैंमा साधना हो, संगीतमा ठूलो शक्ति हुन्छ, त्यो शक्तिलाई बच्चाहरुको बीचमा पुर्‍याउन सजिलो होस् र समाज रुपान्तरणमा पनि योगदान पुगोस् भन्ने हो ।’

रमाइरमाइ विद्यार्थीहरुलाई सिकाउने वातावरण बनाउन पालिका क्रियाशील रहेको बताउँदै उनले भने, ‘शिक्षक आफैं पनि कलाकार हो । सबैलाई मन पर्ने संगीतको माध्यमबाट सिकायो भने बुझ्ने–बुझाउने दुवै काम प्रभावकारी हुन्छ भन्ने लाग्छ ।’

उनका अनुसार यसपटक शिक्षकहरुलाई संगीतको आधारभूत तालिम दिइएको छ । यो प्रभावकारी भएमा अझै उच्चस्तरको तालिम दिने योजना छ ।

‘विद्यालयबाट माग भयो र पालिकाले पनि आवश्यकता महसुस गर्‍यो भने वाद्यवादनमा शिक्षकहरुलाई अझै पर्फेक्ट बनाउने छौं,’ अध्यक्ष विष्टले भने ।

राप्ती गाउँपालिका आफ्नो वार्षिक कार्यक्रममा शिक्षकहरुको क्षमता अभिवृद्धिको विषय समेटेको छ । सोही कार्यक्रम अन्तर्गत शिक्षकहरुलाई वाद्यवादन तालिम दिएर ती सामग्री विद्यालयलाई नै हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

हस्तान्तरणअघि शिक्षक-शिक्षिकाहरुलाई ती वाद्यवादन बजाउन सिकाउन लागिएको हो । पालिकाले मावि तहका विद्यालयका तीन जना, निमावि (आधारभूत) तहका २ जना र प्रावि तहका १ जना शिक्षकको दरले तालिममा सहभागी गराएको छ ।

संगीत प्रशिक्षक सुवेदी संगीतिक माहोलमा पढाउँदा बालबालिकाको सिकाइको स्तर बढ्ने बताउँछन् । उनी भन्छन्, ‘विद्यालयका बालबालिकाहरुलाई संगीत सँगसँगै पढाइयो भने उनीहरुको स्मरणशक्ति बढ्ने र मानसिक रुममा ताजा हुन्छन् भन्ने मेरो व्यक्तिगत अनुभव पनि हो र पछिल्लो पटकको रिसर्चले पत्ता लगाएको कुरा पनि हो ।’

‘सकारात्मक प्रतिक्रिया’

गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनाल वाद्यवादन प्रयोग गरी विद्यार्थीहरुलाई सिकाइमा आकर्षित गर्ने तरिका शिक्षकहरुलाई सिकाइरहेको बताउँछन् । ‘यो पहिलो चरणको तालिम कार्यक्रम हो । यसको प्रभावकारिता हेरेर पछि अझै धेरै विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई समेट्ने र योभन्दा पनि उच्चस्तरको तालिम दिन सकिन्छ,’ शिक्षा अधिकृत खनालले भने ।

राप्ती गाउँपालिका कार्यालयको हल कोठाभित्र मादल बजाउन सिक्दै शिक्षकहरु ।

संस्थागत (निजी) विद्यालयहरुले संगीतका प्रशिक्षकहरु राखेर विद्यार्थीहरुलाई पढाइरहे पनि सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुलाई भेला गरेर वाद्यवादनको तालिम दिने राप्ती गाउँपालिका सम्भवतः पहिलो भएको उनको दाबी छ । यसबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछन् ।

‘मैले पहिलो दिनको तालिम कक्षाको भिडियो फेसबुकमा राखेको थिएँ । धेरैले राम्रो कामको सुरुवात भयो, हाम्रो जिल्लाका जनप्रतिनिधिलाई पनि यस्तै कार्यक्रम चलाउन भन्दिनुस् न भनेर प्रतिक्रिया दिइरहनु भएको छ,’ खनाल भन्छन्, ‘हरेक शिक्षकले यो खालको तालिम खोजिरहनु भएको छ भन्ने लाग्यो ।’

लुकेका प्रतिभा प्रष्फुटनको अवसर

वाद्यवादन बजाउन सिक्न पाउँदा शिक्षकहरु पनि खुसी छन् । गितार बजाउन सिकिरहेकी शिक्षिका निर्मला आचार्य भन्छिन्, ‘हामी यहाँ जति सिकेर जान्छौं, बच्चाहरुलाई पनि त्यति नै सिकाउने लक्ष्य लिएर म तालिममा आएकी छु । साथीहरुले पनि यस्तै गर्नु हुनेछ भन्ने विश्वास छ ।’

नयाँ-नयाँ प्रतिभाहरु सामाजिक सन्जालमार्फत् सार्वजनिक भइरहेका बेला विद्यालयको संगीतिक वातावरणले ओझेलमा परेका अरु प्रतिभा प्रष्फुटन हुन पनि सहयोग मिल्ने उनको विश्वास छ ।

अर्का शिक्षक सारुमगर शिक्षकहरुलाई भनेर राप्ती गाउँपालिकाले वाद्यवादन सिक्ने वातावरण बनाइदिएकोमा खुसी व्यक्त गर्छन् । यो सिकाइले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अझै प्रभावकारी हुने विश्वास उनको छ ।

हार्मोनियम बजाउन सिकिरहेका शिक्षक सारुमगर भन्छन्, ‘अतिरिक्त क्रियाकलापमा अब संगीत पनि समावेश गर्दा त्यसको महत्व झनै बढ्छ । विद्यार्थीका आन्तरिक क्षमता प्रष्फुटन गराउन प्रेरित गर्छ र हाम्रो सिप विकास गर्न पनि यो तालिमले सहयोग गर्ने विश्वास छ ।’

शिक्षिका आचार्य पनि यो तालिमले गाउँघरका स्कुले बालबालिकामा रहेका लुकेका प्रतिभा प्रष्फुटन हुन सहयोग मिल्ने बताउँछिन् ।

‘संगीतमय विद्यालय भइदियो भने लुकेका प्रतिभाहरुलाई पनि हौसला र सहयोग पुग्छ जस्तो लाग्छ । त्यसैले पालिकाको स्थानीय पाठ्यक्रम पनि त्यसैअनुसार तयार गरिएको छ । हामी पनि त्यसलाई सफल बनाउन प्रयासरत छौं ।’

तस्वीर : तुलबहादुर कँवर मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?