 
																			२८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल थालेदेखि सयौं कार्यकारी आदेश जारी गरिरहेका छन् । यसपटक ट्रम्पको तारोमा परेको छ, तरल पदार्थ पिउन प्रयोग गरिने मामुली कागजी स्ट्र (पेय पदार्थ पिउन प्रयोग गरिने पाइप) ।
ट्रम्पले सोमबार साँझ जारी गरेका कार्यकारी आदेशहरूमध्ये एउटा कागजी स्ट्रको प्रयोगसँग सम्बन्धित छ । अमेरिकी सरकारी कार्यालयहरुमा प्लास्टिक स्ट्र प्रयोगलाई निषेध गर्ने कानुनलाई प्रतिस्थापन गर्न ट्रम्पले नयाँ आदेश जारी गरेका हुन् ।
‘कसैलाई पनि वास्तवमै कागजी स्ट्र मन पर्दैन,’ ट्रम्पले भने । यो आदेशले संघीय विभागहरू र एजेन्सीहरूलाई आफ्नो विद्यमान खरिद प्रक्रियाहरू पुनः मूल्यांकन गर्न अनुरोध गर्नेछ ।
‘कागजी स्ट्रले कामै गर्दैनन् उनले भने, ‘मैले धेरै पटक प्रयोग गरेको छु र कहिलेकाहीँ तिनीहरू टुट्छन्, फुट्छन् यदि केही तातो छ भने तिनीहरू धेरै लामो समयसम्म टिक्दैनन्, कहिलेकाहीँ केही मिनेट, कहिलेकाहीँ केही सेकेन्ड मात्र । यो हास्यास्पद अवस्था हो । त्यसैले हामी फेरि प्लास्टिकतर्फ फर्कंदैछौं ।’
पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासन अन्तर्गत, सन् २०२२ मा अमेरिकी आन्तरिक मामिला विभागले सबै संघीय भूमिहरू, जसमा राष्ट्रिय निकुञ्जहरू समेत समावेश छन्, मा प्लास्टिक स्ट्र, खाद्य तथा पेय पदार्थका कन्टेनर र बोतलजस्ता सबै एकपटक मात्र प्रयोग गरिने प्लास्टिक उत्पादनहरूलाई सन् २०३२ सम्म चरणबद्ध रूपमा निष्कासन गर्ने आदेश दिएको थियो ।
आन्तरिक मामिला विभागले बाइडेनद्वारा जारी गरिएको कार्यकारी आदेशको पालना गरिरहेको थियो, जसले संघीय विभागहरू तथा एजेन्सीहरूलाई फोहोर न्यूनीकरण गर्न र पुनः प्रयोग गर्न सकिने उत्पादनहरूलाई प्रवर्द्धन गर्न निर्देशन दिएको थियो । ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमै बाइडेनको सो आदेश खारेज गरिदिएका थिए ।
केही नगरपालिका सरकारहरूले पनि एकपटक मात्र प्रयोग गरिने प्लास्टिकका उत्पादनहरूमाथि नियम लागू गरेका छन्, जसले प्लास्टिक स्ट्रको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
कागजी स्ट्रहरू वातावरणका लागि ज्यादा अनुकूल मानिन्छ । पेयपदार्थ पिउँदा त्यस्ता स्ट्रहरु चाँडै गल्ने भएकाले उपभोक्ताहरूमा त्यति लोकप्रिय छैनन् । ट्रम्प र अन्य रिपब्लिकन नेताहरूले डेमोक्रेटहरूद्वारा समर्थित वातावरणीय नियमहरूको विरोध गर्ने क्रममा लामो समयदेखि कागजी स्ट्रलाई मुख्य आलोचनाको विषय बनाउँदै आएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4