
काठमाडौं । ‘दुखी आत्मा’का निर्माताले टिजरमा फिल्मलाई ‘एडल्ट ड्रामा’ भनेर प्रचार गरे । अभिनेत्री आँचल शर्माले पनि यसको कथावस्तु १८ वर्षभन्दा तलका दर्शकलाई योग्य नरहेको अन्तर्वार्तामा बताएकी थिइन् ।
अभिनेता दयाहाङ राईले त, परिवारबीच छुट्टाछुट्टै गएर फिल्म हेर्नुपर्ने हुनसक्ने बताएका थिए । सामाजिक संजालमा समेत एडल्ट फिल्मको रुपमा पछिल्लो समय यसको चर्चा भैरहेको छ ।
यस्तोमा, केन्द्रिय चलचित्र जाँच समिति सेन्सर बोर्डले दीपेन्द्र लामा निर्देशित फिल्मलाई प्यारेन्टल गाइड प्रमाणपत्र दिएको छ । यसको अर्थ बाल दर्शकले पनि अभिभावकको उपस्थितीमा फिल्म हेर्न पाउनेछन् ।
फिल्मको दृश्यको काँटछाँट पनि गर्ने निर्माताको शंका थियो । मंगलबार मात्रै फिल्मको दृश्य र संवादमा कैंची नलगाएर फिल्म सेन्सर पास भएको छ । निर्देशक अनुसार कुनैपनि दृश्यमा सेन्सरले काँटछाँट गरेन । सेन्सरका सदस्यले समेत फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरेको उनले बताए ।
निर्देशक लामाले भने- ‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फेमिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
फिल्ममा अनुपविक्रम शाही, वुद्धि तामाङको पनि अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ । फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।
प्रतिक्रिया 4