 
																						३० माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।
भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।
नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।
‘यो विल्कुल नयाँ प्रयास हो । उहाँहरूले उम्मेदवारी पनि माग गर्नुभएको थियो । त्यो चाहिँ मिलेन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौं ।’
नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई बताउँछिन् ।
‘आ–आफ्नो इमेलमार्फत सबैको युनिक कोड र जीमेलको प्रयोगबाट मतदान गर्नुभएको हो,’ भट्टराईले थप जानकारी दिँदै भनिन् ।
उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् ।
निर्वाचन समितिका संयोजक रामकुमार पुरीका अनुसार बुधबार भएको मतदानको गणना सुरु हुने तयारीमा छ ।
अनलाइन र भौतिक रुपमा मतदान गरेका सबैको एकमुष्ट रुपमा गणना हुने पुरीले अनलाइनखबरलाई बताए । ‘अनलाइन र यहाँ भौतिक रुपमा भएको दुवै मतको गणना हुन्छ,’ उनले भने ।
भारत प्रवास र अन्य मुलुक गरी लगभग १२ वटा राष्ट्रबाट नेतृत्व चुन्नका लागि मतदान भएको उनले बताए ।
‘जहाँ नयाँ प्रविधिलाई प्रयोग गर्न सक्षम देखिएका ठाउँमा यो सुरुवात गरेका हौं,’ पुरीले भने, ‘भोलि राज्यलाई आवश्यक पर्दा कसरी त्यसलाई तयार पारेर राख्नेछौं ।’
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।
महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4