+
+
Shares

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १६:०७

३० माघ, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

आजै चिया समयअघि बसेको संवैधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो । त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले चिया समयपछि सुनुवाइ सुरु गर्ने जनाएका थिए ।

चिया समयअघि उनले निवेदकहरूको संख्या, वकालतनामा गर्ने कानुन व्यवसायीहरूको संख्या, बहस गर्ने कानुन व्यवसायीहरूको संख्या र समयबारे जिज्ञासा राखेका थिए । धेरै निवेदन र कानुन व्यवसायीहरू भएपछि सुनुवाइमा व्यवस्थापन गर्न उनले कानुन व्यवसायीलाई अनुरोध गरेका थिए ।

त्यसक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले आफूहरूले बहस नदोहोर्‍याउने र संक्षिप्त रूपले भनाइ राख्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।

त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका निकायमा ५२ जना पदाधिकारीहरू नियुक्त भएका थिए । उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा निवेदन दर्ता भएका थिए ।

संविधानमा गरिएको व्यवस्था उल्लंघन हुने गरी अध्यादेश जारी भएको, तत्कालीन सभामुख अग्नि सापकोटालाई जानकारी नगराई संवैधानिक परिषद्को बैठक बसेको र ती पदाधिकारीहरू नियुक्त भएको तथा संसदीय सुनुवाइ पनि नभएको भन्दै कानुन व्यवसायीहरूले नियुक्ति बदर हुनुपर्ने माग राखी रिट निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?