+
+
Shares

चुनावबाट नेतृत्व चुन्नुपर्छ : रेवन्त गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ८:५९

म संगठनको नयाँ कार्यसमिति चुनावबाट चुन्नुपर्छ भन्ने अडानमा छु । सर्वसहमति गर्दा कहिलेकाहिँ आउनुपर्ने मान्छे छुट्नसक्छ, नआउनुपर्ने मान्छे आउनसक्छ, अनुहार चिनेको मान्छे पारिनसक्छ आफन्त–नातागोता पारिनसक्छन् । त्यसैले सर्वसहमति गर्नुभन्दा चुनावमा जानुपर्छ भन्ने मेरो मान्यता हो ।

प्रजातान्त्रिक ढंगले, सौहार्दपूर्ण वातावरणमा चुनावमा जाऔं भन्ने मलगायत प्रायः सबै साथीहरुको माग छ । त्यो धारणालाई हामीले कदर गर्नुपर्छ ।

देशभरका साथीहरु जुट्नु भएको छ, उहाँहरुले जहाँ अभिमत जारी गर्नुहुन्छ, त्यहीँबाट संगठक छानिन्छन् । कार्यकर्ताले छानेको संगठकले मात्रै जवाफदेही भएर संगठनमा काम गर्छ । त्यसैले म देशभरका कार्यकर्ताले संगठनको नेता छान्न पाउनुपर्ने विधिको पक्षमा छु ।

होइन, चुनावमा नजाऔं, सर्वसहमतिमा जाऔ भन्ने हो भने त्यसको आधार बरिष्ठतालाई बनाउनुपर्छ भन्ने पक्षमा म छु । शतप्रतिशत सर्वसहमति भयो भने पनि प्रजातान्त्रिक हुन्छ । त्यसो हुँदा कामकाजी मान्छे आउने ग्यारेन्टी पनि हुनुपर्छ ।

सर्वसहमतिमा गए पनि, चुनावमा गए पनि अध्यक्ष पदमा मेरो दाबी स्वाभाविक रुपमा रहन्छ । किनभने म जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै यहाँसम्म आएको हुँ । म दुईपटक महासचिव भएँ । चारपटक उपाध्यक्ष भएँ । अहिलेको केन्द्रीय पदाधिकारीमा म सिनियर भएको नाताले पनि मेरै नेतृत्वमा सर्वसहमति कायम गर्दा त्यो स्वाभाविक हुन्छ, प्राकृतिक हुन्छ र सबैलाई मान्य पनि हुन्छ ।

तर यहाँ सिनियर र कामकाजी मान्छेहरुलाई पाखा लगाउने वातावरण बनाउन खोजिएको जस्तो देखिएको छ । आफूले चिनेजानेको अनुहारलाई मात्रै ल्याउन खोजिएको जस्तो देखिएको छ । त्यसो गर्नु हुँदैन भन्ने मेरो स्पष्ट अडान छ ।

२०६३ सालमा म संगठनको उपाध्यक्ष थिएँ । त्यतिबेला भवानी दाहाल केन्द्रीय सदस्यमा आउनु भएको हो । अहिले अध्यक्षमा उहाँले पनि दाबी गर्नु भएको छ र मैले पनि सिनियरको आधारमा अध्यक्षमा दाबी गरेको छु ।

अहिलेसम्म संगठनमा मैले ३४ वर्ष योगदान गरिसकेँ । संगठन चलाउने क्रममा विधान, प्रतिवेदन लेखन लगायतका काम गर्ने पनि मै हुँ । मेरो जुन बिरासत छ, त्यसलाई जोगाएर, सबै साथीहरुलाई मिलाएर मैले संगठन हाँक्न सक्छु भन्ने हिम्मत छ ।

विगत केही वर्षदेखि संगठन नीतिप्रधान भन्दा व्यक्तिप्रधान ढंगले जान खोज्दैछ । नीतिको माध्यमबाट सार्वजनिक प्रशासन सुधार्नुपर्ने, सदस्यको हितमा जानुपर्नेमा संगठनको नेता बन्दै त्यसको आवरणमा व्यक्तिगत हितका लागि काम गर्न खोज्ने संकेतहरु देखिए ।

त्यसैले संगठनलाई फेरि ट्र्याकमा ल्याउनका लागि, नीतिमा चल्ने संस्था बनाउनका लागि पनि मैले अध्यक्षमा दाबी प्रस्तुत गरेको हुँ ।

अहिले निजमती कर्मचारीका संगठनमाथि मुलुकका सबै क्षेत्रबाट प्रहार छ । सरकार, राजनीतिक नेतृत्व, उच्च प्रशासक र आम जनताबाट पनि प्रहार भइरहेको छ । त्यो प्रहारलाई बस्तुपरक ढंगले प्रतिवाद गर्नसक्ने बलियो नेतृत्व संगठनलाई आवश्यक छ । त्यसका लागि म नै उपयुक्त पात्र हुँ भन्ने मेरो दाबी छ ।

अहिले ट्रेड युनियन आवश्यक छैन भनेर बहस गर्ने गरिएको छ । तर मुलुकका लागि, निजामती प्रशासनका लागि, लोकतन्त्रका लागि र मानवअधिकारका लागि पनि ट्रेड युनियन आवश्यक छ । आईएलओ अभिसन्धीले पनि त्यसलाई मान्यता दिएको छ ।

ट्रेड युनियन अधिकार अन्तर्राष्ट्रिय मूल्य मान्यतामा स्थापित विषय हो भन्ने कुरा पनि न धेरै जनताले बुझेका छन्, न धेरै राजनीतिक नेताहरुले बुझेका छन् । मेरो नेतृत्वमा साथीहरु आउनुभयो भने उनीहरुलाई त्यो कुरा बुझाउन सक्छौं भन्ने आत्मविश्वास छ । ट्रेड युनियन पनि आवश्यकताको विषय रहेछ भन्ने बुझाएर, अझ व्यवस्थित बनाएर संगठनलाई हाँक्न सक्छु भनेर पनि मैले अध्यक्षमा दाबी गरेको हुँ ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?