
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘मकुना’को हत्या भएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बिहीबार पशु कल्याण संघ नेपालले बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परिसरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा स्नेहा केयर, एनिमल नेपाल लगायका पशु कल्याणमा काम गर्ने संस्था र अन्य पशुअधिकारकर्मीहरूको सहभागिता थियो । प्रदर्शनकारीले मकुना हात्तीको हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनालाई जसरी मारियो त्यो एकदमै निन्दनीय काम भएको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ बताउँछिन् । उसलाई मार्ने व्यक्तिहरुलाई कारबाही हुनुपर्ने माग उनले गरिन् ।
हात्तीको मृत्युको विषयमा सरकारले छानबिन समिति पनि बनाएको छ । छानबिन समितिमा सरकारका मान्छेहरु मात्र रहेकाले त्यसमा पशु कल्याणको श्रेत्रमा काम गर्ने व्यक्ति पनि माग आफूहरुको रहेको श्रेष्ठले बताइन् ।
‘रेडियो कलर लगाएको हात्ती काहाँ जाँदैछ भन्ने कुरा निकुञ्ज प्रशासनलाई थाहा हुन्छ’ श्रेष्ठ भन्छिन्, ‘यस्तोमा सेल्फ डिफेन्समा गोली चलाइयो भन्ने जुन अभिवक्ति छ, त्यसलाई हामी घोर भर्त्सना गर्छौँ ।’
उसलाई घाँटीमा नै गोली लागेकाले नियन्त्रणमा लिने विकल्पतिर नसोचेको देखिने श्रेष्ठको भनाइ छ।
‘उसलाई शान्त गरेर नियन्त्रण गर्न सकिन्थ्यो होला’ श्रेष्ठ भन्छिन्, ‘बेहोस बनाउन सकिन्थ्यो होला वा घुँडामुनि पनि गोली हान्न मिल्थ्यो होला । तर यसो गरिएन त्यसैले हामी यसलाई सुनुयोजित ढंगले मारिएको भन्छौँ।’
छानबिन समितिमा पशु अधिकारकर्मीका तर्फबाट कसैलाई सहभागी नगराउँदा छानबिनको नतिजा सही नआउन पनि सक्ने एनिमल नेपालकी प्रोग्राम अफिसर लक्ष्मी खत्रीले बताइन् ।
‘वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभाग बनेको हो भने विभाग किन मौन छ ? किन दोसीलाई कारबारी गरेको छैन ? भन्ने प्रश्न पशुअधिकारकर्मीहरुले गरेका छन् ।
प्रदर्शनमा उनीहरूले मकुनालाई न्याय दे.., राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो.., निर्दोष जनावरको हत्या बन्द गर.. भन्ने.नारा लगाएका थिए।
माघ २३ गते सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको थियो।
सुरक्षाकर्मीहरूले हात्तीले आक्रमण गर्न आएपछि गोली चलाउनु परेको बताएका थिए।
प्रतिक्रिया 4